सूचनाको शक्ति - The Power Of Information

        

शेख हसिनाको पार्टीका आठ जना नेतालाई आन्दोलनकारीले जिउँदै जलाए

बंगलादेशमा शेख हसिनाको सरकार पतन भएपछि प्रदर्शनकारीहरूको तालिबानी शैलीमा कारबाही गरेको घटना सार्वजनिक भएको छ । प्रदर्शनकारीहरूले जेसोरस्थित अवामी लीगका नेताहरू बसेको एक होटलमा आगो लगाएका थिए ।

सञ्चार माध्यमले जनाए अनुसार आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् । होटलका मालिक जेसोर जिल्ला अवामी लिगका महासचिव शाहीन चक्लादार थिए । सञ्चारमाध्यमलाई उपायुक्त अबरारुल इस्लामले घटनाको पुष्टि गरेका छन् । मृत्यु हुनेमा २० वर्षीय छयन र १९ वर्षीय सेजन हुसेन रहेका छन् ।

अस्पतालका कर्मचारी हारुन रसिदले त्यहाँ कम्तीमा ८४ जनाको उपचार भइरहेको र अधिकांश विद्यार्थी रहेको बताए । आन्दोलन आक्रामक बनेसँगै सोमबार हसिनाले देश छाडेर भागेकी थिइन् । उनले भागेसँगै देशभर आन्दोलनकारीले उत्सव मनाएका थिए । सोही क्रममा आन्दोलनकारीले होटलमा आगो लगाएका हुन् । आन्दोलनकारीले अवामी लिगको कार्यालय र नेताहरूको घरमा पनि आक्रमण गरेका थिए ।

३०० जनाको ज्यान गयो

बंगलादेशमा आगजनी र हिंसाका कारण अहिलेसम्म कम्तिमा ३०० जनाको ज्यान गएको छ । समाचार एजेन्सी एएफपीको सोमबारको रिपोर्टमा यस्तो दाबी गरिएको हो । यद्यपी मृत्यु हुनेको संख्या ३०० हो भन्नेबारे आधिकारिक बयान भने आएको छैन । सरकारी अधिकारीहरूले १०० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । आइतबार भएको झडपमा मात्रै १४ प्रहरीसहित १०० जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलवार ११:११

लोकप्रिय