बंगलादेशमा दुई दशकभन्दा लामो समयदेखिको राजनीतिक प्रभाव अन्त्य गर्दै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिइन् । हसिनाको बहिर्गमनसँगै बाङ्ग्लादेशको राजनीतिमा शून्यता सिर्जना भएको छ । यसअघि हसिनाको अवामी लीग र विपक्षी बाङ्ग्लादेश न्याश्नल पार्टीबीच प्रतिस्पर्धाको राजनीति रहेको यो देशमा एकाएक शून्यताको अवस्था सिर्जना भएको छ ।
सेना प्रमुखले अन्तरिम सरकार निर्माण घोषणा गरेको केही घण्टापछि सोमवार साँझ राष्ट्रपति मोहम्मद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाको रिहाइ गर्न आदेश दिएका छन् । राष्ट्रपतिले कोटा प्रणाली र सरकारको विरोधमा यसअघि आन्दोलन गर्दा पक्राउ परेका विद्यार्थीहरूलाई समेत रिहा गर्न निर्देशन दिएका छन् ।
शहाबुद्दिनले आफूले सेना प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरूसँग बैठक गरेको जानकारी दिएका छन् । बाङ्ग्लादेशका राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कर्फ्यू अन्त्य हुने बताए । तर सरकार कसको नेतृत्वमा बन्छ भन्ने स्पष्ट हुन बाँकी छ । यसअघि बंगलादेशमा कैयौँ पटक सैन्य कू भएको थियो ।
सबैभन्दा पछिल्लो पटक सन् २००७ मा यहाँ सैन्य कू भएको थियो । पछिल्लो राजनीतिक उथलपुथलमा सेनाले देखाएको धैर्यको अमेरिकाले प्रशंसा गर्दै अन्तरिम सरकारको गठनमा जोड दिएको छ । युरोपेली सङ्घले पनि प्रजातान्त्रिक प्रणालीबाट निर्वाचित सरकारलाई ‘शान्तिपूर्ण सत्ता हस्तान्तरण’ गर्न आग्रह गरेको छ । यो क्षेत्रकै शक्तिको रूपमा रहेको छिमेकी देश भारतले भने पछिल्लो घटनाक्रमबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
सेन्टर फर पोलिसी डाइअलगका वरिष्ठ अर्थशास्त्री देवप्रिया भट्टाचार्यले प्रधानमन्त्री हसिनाको राजीनामाले सडकमा हर्षोल्लास छाएको बताइन् । उनका अनुसार हसिनाको राजीनामासँगै बंगलादेशमा अल्पसङ्ख्यक हिन्दूमाथि आक्रमण बढेको छ र नयाँ प्रशासनका लागि चुनौती बढेको छ । पदत्याग गर्दै हसिना विदेश पलायन भएको समाचारसँगै उत्साहित प्रदर्शनकारीहरूको भिड सोमवार प्रधानमन्त्री निवासमा प्रवेश गर्यो ।
केही व्यक्तिले त्यहाँ लुटपाट समेत गरेको विवरणहरू आएका छन् । प्रदर्शनकारीहरू प्रधानमन्त्रीको निवासबाट फर्निचरका सामग्री बोकेर निस्कँदै गरेका देखिएका थिए । सोमवार अनियन्त्रित भिडले सरकारी कार्यालयहरूमा आक्रमण गर्नुका साथै आगजनी समेत गरेको थियो । प्रदर्शनकारीहरूले शेख हसिनाका पिता तथा स्वतन्त्र बाङ्ग्लादेशका संस्थापक शेख मुजिबुर रहमानको सालिकमा पनि तोडफोडको प्रयास गरेका थिए ।
सोमवार सहरभरि सेना र प्रहरी परिचालन भएका थिए । मोबाइल फोन र इन्टरनेट समेत कैयौँ घण्टासम्म अवरुद्ध भएका थिए । सोमवारको हिंसामा पनि दर्जनौँ मानिसहरू मारिएको विवरण आए पनि हताहत हुनेको सङ्ख्या यकिन हुन बाँकी छ । समाचारसंस्था एएफपीले कम्तीमा ६६ जना मारिएको जनाएको छ भने स्थानीय ढाका ट्रिब्यूनले १३५ जनासम्म मारिएको उल्लेख गरेको छ ।
हसिनाका सहयोगीहरूका अनुसार उनी अब देशको राजनीतिमा नफर्किने निष्कर्षमा पुगेकी छन् । सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी हसिना २० वर्ष देशको प्रधानमन्त्री बनेकी थिइन् । यसपालि पदत्याग गर्न बाध्य हुँदा उनी निरन्तर १५ वर्ष देशको प्रधानमन्त्री भएर शासन गरेकी थिइन् । हसिनाका छोरा सजीब अहमद वाजेद जोयले परिवारको आग्रहमा हसिनाले आफ्नो सुरक्षाका लागि देश छोडेको बताएका छन् ।
हसिनाले राजीनामा नदिउन्जेलसम्म जोय प्रधानमन्त्रीका सल्लाहकार पनि थिए । अहिले उनी अमेरिकामा छन् । उनले आफ्नी आमा अब राजनीतिमा नफर्किने सङ्केत गरेको बीबीसीले उल्लेख गरेको छ । ‘आफूले कडा परिश्रम गरेको भए पनि अल्पमत उनीविरुद्ध उठेको’ देखेर हसिना दुःखित भएकी थिइन् ।
‘मलाई लाग्छ, अब सकियो । मेरो परिवार र हामीले धेरै खेप्यौँ,’ हसिनाका छोरालाई उदृत गर्दै बिबिसीले लेखेको छ । उनले हसिनाको कार्यकालको प्रतिरक्षा गर्दै भने, ‘उहाँले बाङ्ग्लादेशको कायापलट गर्नुभयो । उहाँ सत्तामा आउँदा बाङ्ग्लादेशलाई विफल राज्य मानिन्थ्यो । यो गरिब देश थियो । आजसम्म यसलाई एशियाको उदीयमान बाघमध्ये एक मानिन्थ्यो । उहाँ निकै दुःखित हुनुहुन्छ ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं