होलिया र गङ्गापुरलाई जोड्न राप्ती नदीमा पुल नहुँदा तटीय क्षेत्रका नागरिकले डुङ्गा चढ्नुपर्ने बाध्यता छ । बाँकेको पूर्वी क्षेत्र सिधनियाघाटमा पुल बनेको डेढ दशकभन्दा धेरै भइसके पनि नदी तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुङ्गाकै भरमा नदी तर्ने गर्दछन् ।
राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि दैनिक डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको नरैनापुर गाउँपालिका–६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्यले बताए । उनका अनुसार राप्ती सोनारीको खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवा लगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाटबजार गर्न डुङ्गा चढेर नदीपारि जाने गर्दछन् ।
खल्ला झगडिया गाउँभन्दा अलिकति अगाडि डुङ्गा सधैँ तयारी अवस्थामा रहन्छ । ‘नदी तर्न पक्की पुल सिधनियाघाट पुग्न धेरै टाढा पर्छ, यता झोलुङ्गे पुल छैन, त्यसैले डुङ्गा चढ्नुको विकल्प नभएको राप्तीसोनारी–७ खल्लाझगडिया नयाँबस्तीका स्थानीय शङ्कर यादव बताउँछन् । ‘हिउँदवर्षात् जहिले पनि डुङ्गाबाट राप्ती नदी वारपार गर्ने गरेका छौं,’ उनले भने ।
डुङ्गामा नदी तारेको प्रतिव्यक्ति १० तिर्नु पर्दछ । गाईभैँसीलाई बोकेबापत २०, साइकलको १५ र मोटरसाइकलको ६० लिने गरेको डुङ्गा चालक नानबाबु पासीले बताए । डुङ्गामा एकैपटक ५० देखि ६० जना मान्छे र मालसमान नदी वारपार गराउने गरेको पासी बताउँछन् । हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा लाग्ने हाटबजारमा नेपाली गाउँका सयौँ नागरिक किनमेलका लागि पुग्ने गर्छन् ।
हाटबजारमा राप्तीवारि डुडुवा गाउँपालिका होलिया, बेतहनी र राप्तीपारि राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर र नरैनापुर गाउँपालिकाको गङ्गापुर र मटेहियाका दर्जनौँ नागरिक डुङ्गा तरेर जाने गर्दछन् । भारतीय हाटबजारमा तरकारी लगायत उपभोग्य वस्तु सस्तो पाइने भएकाले अधिकांश किनमेल गर्न त्यतै जाने गरेका डुङ्गा चालक पासीले बताए ।
डुडुवा गाउँपालिका–१ होलियाका कुडुवा, कृषि चौफेरी, वर्डर चौफेरी छिटइपुर्वा, टेपरी प्रिपहवा खडैचा कन्दइपुर्वा सन्तलीया नयाँबस्तीका सयौँ बासिन्दाको डुङ्गा चढेर राप्ती नदी वारपार गर्नु दिनचर्या भएको स्थानीय झगरु लोनियाले बताए । राप्ती तटीय क्षेत्रका नागरिक राप्तीको डुबान तथा कटान नियन्त्रण र जोखिम मोलेर डुङ्गामा सवार हुनुपर्ने समस्या अन्त्यका लागि मटेहिया र होलिया जोड्ने पक्की पुल निर्माणका लागि पहल भइरहेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके