सूचनाको शक्ति - The Power Of Information

        

देशभर वर्षा, ३५ जिल्ला उच्च जोखिममा

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ ।

सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन तथा चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ । मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम, बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा जिल्लालाई उच्च जोखिममा रहेको राखेको छ ।

यस्तै, गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्ज्या, तनहुँ, नवलपरासी, लमजुङ र गोरखा तथा लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी (पश्चिम), दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची पनि उच्च जोखिममा रहेका छन् ।

त्यस्तै, सुदूरपश्चिममा कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडीमा पनि उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मध्यम जोखिममा ओखलढुंगा, मोरङ, झापा लगायतका जिल्लाहरू रहेका छन् । हाल देशभर मनसुनी वायुको उच्च प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलवार १०:१५

लोकप्रिय