नेपालमा भोलि साउन २१ गतेदेखि मनसुन पुनः सक्रिय हुँदैछ । आज मनसुन विशेष तीनदिने मौसम बुलेटिन सार्वजनिक गर्दै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलि र पर्सी मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको हो । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ ।
महाशाखाले बुलेटिन जारी गर्दै देशभर सामान्यदेखि पूर्णतया बदली रही अधिकांश स्थानमा वर्षा हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्लागत मनसुनी वर्षाको उच्च जोखिममा कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम देखिन्छ भने बागमती प्रदेशमा रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवकोट र दोलखा रहेका छन् ।
वर्षाको उच्च जोखिममा गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ, गोरखा छन् भने लुम्बिनी प्रदेशमा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची छन् । सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी वर्षाको उच्च जोखिममा छन् ।
रातिको समयमा मनसुन बढी सक्रिय भई पानी पर्ने सम्भावना बढी हुने भएकाले यी दुईदिन सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी, नाला र खोलामा पानीको सतह बढ्न सक्ने, यातायातका साधन प्रभावित हुने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सबैलाई मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं