नेपाल नेत्रज्योति सङ्घ बाँकेद्वारा सञ्चालित नेपालगन्जको फुल्टेक्रास्थित फत्तेबाल आँखा अस्पतालले गत आर्थिक वर्ष २०८०–०८१ मा एक लाख ३३ हजारभन्दा बढी व्यक्तिको आँखाको परीक्षण गर्नुका साथै उपचार गरेको छ ।
२०४३ सालमा स्थापना भई आँखा उपचारमा सेवा प्रदान गर्दै आएको अस्पतालले गत आव २०८०–०८१ मा एक लाख ३३ हजार ३३८ जना नागरिकको आँखाको परीक्षण तथा उपचार गरेको अस्पतालका प्रबन्ध निर्देशक डा.कौशलकुमार बर्माले जानकारी दिए । डा.बर्माका अनुसार उक्त आवमा ५५ हजार ५७७ जना नेपाली नागरिक र ४५ हजार ४७० जना भारतीय नागरिकको आँखाको परीक्षण गरिनुका साथै उपचार गरिएको हो ।
जस अन्तर्गत एक लाख एक हजार ४५ जनाको अस्पतालमा, ११ हजार ९४८ जनाको सामुदायिक आँखा उपचार केन्द्रमा र २० हजार ३४५ जनाको विभिन्न शिविरमा आँखाको परीक्षण गरिएको हो । गत आवमा चार हजार ५०२ नेपाली नागरिक र तीन हजार ८९१ जना भारतीय नागरिक गरी आठ हजार ३९३ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।
जसमध्ये ६३ लाख ७१ हजार ७५० रुपैयाँ बराबरको छुटमा तीन हजार एक जना नेपाली नागरिकलाई सहुलियत तथा निःशुल्कमा सेवा प्रदान गरिएको छ । अस्पतालबाट आव २०७९–०८० मा एक लाख ३८ हजार ३८४ जना नागरिकले सेवा लिएका थिए । जसमध्ये पाँच हजार ४१४ नेपाली र चार हजार ३८२ जना भारतीय गरी नौ हजार ९४८ जनाको शल्यक्रिया गरिएको थियो ।
अस्पतालले स्वास्थ्य बिमा बोर्डसँग आव २०८१–०८२ देखि पाँच वर्षसम्मका लागि लागु हुने गरी स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने सम्झौता गरिसकेको हुनाले आगामी दिनमा सेवाग्राहीको सङ्ख्यामा वृद्धि हुने विश्वास लिएको छ । नेपाली नागरिकभन्दा भारतीय नागरिकको आकर्षणमा रहेको फत्तेबाल अस्पतालमा पछिल्लो समयमा भने तुलनात्मक रूपमा उपचार गर्न आउने भारतीय नागरिकको सङ्ख्या घट्दै गएको र नेपाली नागरिकको सङ्ख्या बढ्दै गएको डा. बर्माले जानकारी दिए ।
अस्पतालले प्रदान गर्ने उच्चस्तरीय सेवा तथा आँखा उपचारमा नेपाली नागरिकको सहज पहुँच भएका कारण पहिलाभन्दा अहिले नेपाली सेवाग्राहीको अनुपात बढेको उनको भनाइ छ । भारत सरकारले त्यहाँका नागरिकलाई विभिन्न योजना बनाएर निःशुल्क रूपमा स्वास्थ्य उपचार गर्न सुरु गर्नु तथा कोभिड समयमा नियमित रूपमा त्यहाँका नागरिक यहाँ आउन नपाउनु र त्यतैका स्वास्थ्य संस्थामा जाँच गराउँदा पछिल्लो समयमा भारतीय नागरिकको आउने सङ्ख्या क्रमशः कमी हुँदै गएको उनले जानकारी दिए ।
नेपालका लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साथै भारत उत्तर प्रदेश राज्यका बहराइच, गोन्डा, श्राबस्ती, गोरखपुर, लखिमपुर, सीतापुर, बाराबङ्की, लखनउ, अयोध्या, फैजावाद तथा सुल्तानपुर लगायतका जिल्लाबाट आँखाका बिरामीले सो अस्पतालबाट सेवा लिने गरेको डा.बर्माको भनाइ छ । अस्पतालको सुरुवातमा १० शय्या क्षमता रहेको अस्पतालमा हाल २५० शय्याभन्दा बढी क्षमतामा सञ्चालन भइरहेको छ ।
अस्पताल अन्तर्गत विभिन्न जिल्लामा पाँच वटा आँखा उपचार केन्द्र सञ्चालन भइरहेका छन् । अस्पतालले स्थापनाकालदेखि गत आवसम्ममा २७ लाख ९० हजार ९६० जना नागरिकलाई आँखा उपचार सेवा प्रदान गरेको छ भने दुई लाख ८२ हजार ४९४ जनाको आँखाको शल्यक्रिया गरेको प्रबन्ध निर्देशक डा.बर्माले जानकारी दिए ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके