कपिलवस्तुमा १९ जना श्रीमानले श्रीमतीविरुद्ध उजुरी दिएका छन् । पछिल्लो समय जिल्लामा पुरुष हिंसा बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०८०–०८१ मा श्रीमानले श्रीमतीविरुद्ध १९ वटा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलले जनाएको छ ।
आर्थिक वर्ष २०७९–८० मा जिल्लामा २९ वटा पुरुष हिंसा भएको भन्दै उजुरी दर्ता थिए । आर्थिक वर्ष २०७०–०७१ देखि पुरुष हिंसाको रेकर्डसमेत राख्न थालिएको सेलले जनाएको छ । त्यस यता वर्षको १० देखि १५ वटा मात्र पुरुष हिंसा सम्बन्धी उजुरी पर्ने गरेकोमा गत आर्थिक वर्षमा भने १९ वटा उजुरी दर्ता भएका छन् ।
श्रीमतीबाट पीडित भएको कुरा समाजमा गर्दा अपहेलित हुने डरले चुपचाप हिंसा सहेर बस्ने पुरुषहरूले अहिले उजुरी दिन थालेको सेलले बताएको छ । पहिले गाउँघरमै गुपचुपमा मिलाइने महिला पीडित पुरुष हिंसाका उजुरी गर्न पुरुषहरू आफैँ प्रहरी कहाँ पुग्ने गरेका छन् । उनीहरूले आफू महिलाबाट पीडित भएको भन्दै न्याय पाउने आशाले जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा उजुरी दर्ता गर्ने गरेका छन् ।
यसअघि उजुरी गर्न पुरुषहरू प्रहरीकोमा खासै आउने गरेका थिएनन् । त्यसकारण प्रहरीमा रेकर्ड पनि राख्ने चलन थिएन । महिलाहरू जस्तै पुरुष पनि उजुरी गर्न आएपछि आरोपित महिलालाई बोलाएर छलफल गराउने गरेको प्रहरी नायब उपरिक्षक हरिबहादुर ओलीले बताए । ‘समय परिस्थिति अवस्था फेरिँदै जाँदा नयाँ समस्या आएको भन्दै दुबै पक्षलाई मिलाएर पठाउने गरिएको छ,’ उनले भने ।
उनका अनुसार धेरै पुरुष वास्तविक रूपमा पीडित भेटिएका छन् । उनले भने, ‘दुबै पक्ष राखेर छलफल गर्दा समस्या पत्ता लाग्छ, त्यसपछि कसरी समाधान गर्ने भनेर निक्र्यौल निकाल्छौं ।’ हिंसा प्रभावित धेरै पुरुषका समस्या समाधान भएको उनको भनाइ छ । पुरुषहरुले आफ्नो श्रीमति माईत गए पछि नफर्केको, लिन जाँदा झैझडा गर्ने गरेको, वैदेशिक रोजगार गएको बेला पठाएको पैसा हिनामिना गरेको जस्ता उजुरी धेरै पर्ने गरेको उनले बताए ।
खासगरी उजुरीमा खान लाउन नदिएको, कुटपिट गर्दै दुर्व्यवहार गरेको र घरमा काम नगरेर दुःख दिएको भन्दै पुरुष उजुरी गर्न आउने गरेका छन् । त्यस्तै घरमा नबस्ने, घर व्यवहार नगर्ने, यातना दिने, विलासी रहनसहन, महँगो लत्ताकपडा र गरगहना मागेर निउ खोजेर दुःख दिने गरेको पुरुषहरुको आरोप छ । महिला सेल कपिलवस्तुका अनुसार गत आर्थिक बर्ष ३४७ घरेलु हिंसामा परेको उजुरी मध्ये २४ वटा अदालत गएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कपिलवस्तु