सूचनाको शक्ति - The Power Of Information

        

कक्षा १२ को नतिजा, ५३ प्रतिशत उत्तीर्ण, एक लाख ८७ हजार ननग्रेडेड

कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षाफल आधा घण्टापछि वेबसाइटमा हेर्न सकिने शर्माले बताए ।

‘नतिजा सार्वजनिक भएको हो । आधा घण्टापछि वेबसाइटमा हेर्न सकिन्छ,’ उनले भने, ‘५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।’ नतिजा सार्वजनिक हुनुअघि आजै बोर्डको बैठक बसेको थियो । बोर्डको बैठकलगत्तै परीक्षाफल सार्वजनिक भएको हो ।

गत वैशाख १४ गतेबाट सञ्चालित २०८० सालको कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन् ।

त्यसैगरी ग्रेडवृद्धितर्फ एक लाख ६५० विद्यार्थी सहभागी भएका थिए । एसइईको जस्तै कक्षा १२ को नतिजा पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार प्रकाशित हुने बोर्डले जनाएको छ । जसअनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थीलाई अनुत्तीर्ण मानिने छ ।

यसैबीच, प्रकाशित परीक्षाफल अनुसार १ लाख ८७ हजार विद्यार्थी ननग्रेडेड (एनजी) भएका छन् । परीक्षामा सहभागी भएका नियमिततर्फका ३ लाख ९० हजार ८६८ परीक्षार्थीमध्ये २ लाख ३ हजार ८४७ विद्यार्थी अर्थात् ५२.९१ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् । शुक्रबार सार्वजनिक भएको नतिजामा सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थी छन् ।

उक्त जीपएमा पास हुनेको संख्या ७८ हजार ७५ रहेको परीक्षा बोर्डले जनाएको छ । त्यस्तै, २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ६१ हजार ३६ रहेको छ भने ३.२१ देखि ३.६० जीपीए प्राप्त गरेर ४६ हजार ८९३ जना विद्यार्थी उत्तीर्ण भएका छन् । सबैभन्दा माथिल्लो ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ५९१ रहेको परीक्षा बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार १३:३८

लोकप्रिय