सूचनाको शक्ति - The Power Of Information

        

मनसुनपछिको प्रकोपमा १४८ जनाको मृत्यु

अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी आजसम्म १४८ जनाको मृत्यु भएको छ । बाढीपहिरो लगायतका विपद्मा परी सबैभन्दा धेरै गण्डकी प्रदेशमा मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा छ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा आठ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १४८ जनाको मृत्यु भएको हो ।

उनका अनुसार काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा १० जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १७६ जना घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता कार्कीले जानकारी दिएका छन् ।

बाढीपहिराका कारण काठमाडौँ उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा पाँच जना गरी जम्मा १०८ जनाको उद्धार गरिएको छ । साथै कोशी प्रदेशमा दुई जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा दुई जना र कर्णाली प्रदेशमा एक जना गरी ४७ जना वेपत्ता भएका र बेपत्ताको खोजी जारी रहेको प्रवक्ता कार्कीले जानकारी दिए ।

बाढीको कारण जम्मा ३८३ घर डुबानमा परेका छन् । जसअन्तर्गत २५५ वटा घर, ९१ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ । बाढीपहिरामा परी आजसम्म ७१५ वटा पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार ११२ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार १२:१५

लोकप्रिय