सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ७५ प्रतिशत रोपाइँ सकियो

दुई सातादेखि वर्षा नहुँदा सुक्न लागेको धानले पानी पाएपछिको हरियाली ।

बाँकेमा धेरै दिनदेखि वर्षा नहुँदा रोकिएको धान रोपाइँ बुधबार सुरु गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका वरिष्ठ कृषि प्रसार अधिकृत अनिश श्रेष्ठका अनुसार लामो समयदेखि वर्षा नहुँदा ७० प्रतिशत रोपाइँ भएर गत सातादेखि पानीको अभावमा रोकिएको रोपाइँ बिहीबारबाट तीव्र पारिएको हो ।

उनले बुधबार जिल्लामा ठुलो वर्षा भएपछि रोकिएको रोपाइँ बिहीबारबाट तीव्र पारिएको जनाउँदै बिहीबारसम्म रोपाइँ ७५ प्रतिशत पुगेको बताए । जिल्लाका अन्य क्षेत्रको तुलनामा सिँचाइ सुविधा कम भएको नरैनापुर गाउँपालिकामा पानी नहुँदा हालसम्म ४० प्रतिशत मात्रै रोपाइँ हुनसकेको जनाउँदै वरिष्ठ कृषि प्रसार अधिकृत श्रेष्ठले बुधबारको वर्षापछि नरैनापुरमा पनि रोपाइँले गति लिएको बताए ।

उनले आइतबारसम्म ८५ प्रतिशत रोपाइँ सकिने अनुमान गरिएको जनाउँदै राप्तीसोनारी लगायतका केही गाउँपालिकामा भने रोपाइँ सम्पन्न भइसकेको बताए । जिल्लाका जानकी, खजुरा, डुडुवा र बैजनाथ गाउँपालिकामा भने रोपाइँ अन्तिम चरणमा पुगेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार ११:५३

लोकप्रिय