बाँकेको खजुरा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१–०८२ को विकास बजेट कार्यान्वयन सुरु गरेको छ । गाउँपालिकाका इन्जिनियर सोनु शाहले साउन १ गतेदेखि नै विकास आयोजना कार्यान्वयनमा ल्याउन प्रक्रिया सुरु गरेको जानकारी दिइन् ।
इन्जिनियर शाहले भनिन्, ‘साउन १ गते जिल्ला दररेट प्राप्त भएपछि योजनाको लागत स्टिमेट र फिल्ड नापजाँचको काम गरिरहेका छौँ ।’ पालिकाले चालु आर्थिक वर्षमा विनियोजन भएका योजनामध्ये केही योजनाको टेन्डरसमेत आह्वान गरिसकेको छ ।
यसैगरी उपभोक्ता समिति र टोल विकास समितिमार्फत सञ्चालन हुने आयोजनाको कामसमेत दशैँअगावै सम्झौता गरी कार्यान्वयन गरिसक्ने लक्ष्य गाउँपालिकाको छ । दशैँसम्म सम्पूर्ण योजनाको ठेक्का आह्वान गरी सम्झौता गरिसक्ने तयारीका साथ सम्पूर्ण जनशक्ति परिचालन भएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले जानकारी दिए ।
अध्यक्ष विकका अनुसार अघिल्ला आवमा ढिलो गरी काम सुरु भएका कारण विकास बजेट न्यून मात्रामा खर्च हुन थालेपछि गाउँपालिकाले यस वर्ष साउन सुरुवातदेखि नै योजना कार्यान्वयनका लागि प्रक्रिया सुरु गरेको हो । खजुरा गाउँपालिकामा गत वर्ष विकास बजेट ६९ प्रतिशत मात्रै खर्च भएको हो ।
अध्यक्ष विकले भने, ‘अघिल्लो आवभन्दा विकास बजेट बढी खर्च भए पनि यसलाई थप वृद्धि गराउन अहिलेदेखि तयारी थालिएको हो ।’ वडागत र पालिकास्तरीय तथा अन्य गरी वार्षिक करिब ४०० वटा योजनाका लागि रकम विनियोजन हुने गरेको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए ।
सङ्घ सरकार र प्रदेश सरकारबाट आउने अनुदानका योजना भदौभित्र यकिन भएपछि छिटोभन्दा छिटो कार्यान्वयनमा लैजाने पालिकाले जनाएको छ । वडामा सञ्चालित हुने योजनामा उपभोक्ता समिति र ठेक्कामार्फत हुने कामको वडा कार्यालयले समयमै समन्वय र सहकार्य गरेमा साना योजना पुस महिनाभित्र सम्पन्न भइसक्ने छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके