सूचनाको शक्ति - The Power Of Information

        

राप्ती तटीय क्षेत्रको खेतीयोग्य जग्गा कटान तथा डुबानमा

बाँकेमा राप्ती नदी तटीय क्षेत्रको खेतीयोग्य जग्गा कटान तथा डुबानमा परेको छ । राप्तीको तल्लो तटीय क्षेत्रमा पर्ने राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको खेतीयोग्य जमिन बाढीले दिनहुँ कटान गरिरहेको छ । बाढीले बिघाका बिघा खेतीयोग्य जमिन कटान भइरहेको राप्तीसोनारी–७ नयाँबस्तीका शङ्कर यादवले बताए ।

‘विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अब कटान गर्दै गाउँतिर सोझिएको छ,’ उनले भने, ‘ठूलो बाढी आयो भने गाउँ नै बगाउँछ भन्ने चिन्ताले राति राम्ररी निदाउन सकिन्न ।’ राप्ती नदीले तल्लो तटीय क्षेत्रका बासिन्दालाई बर्सेनि दुःख दिँदैआएको छ । कुनै क्षेत्रमा वारि त कुनै क्षेत्रमा पारितर्फ जमिन कटान गर्दै आएको राप्ती सोनारी–७ झगडिया गाउँका दीपेन्द्र पाण्डेले बताए ।

‘राप्तीसोनारीको विसम्मवरपुर र पदनाहा गाउँ नजिक रहेको तटबन्ध राप्ती नदीले गत वर्ष भत्काएको थियो । त्यहीँबाट राप्तीले डुबान र कटान तीव्र पारेको छ,’ उनले भने, ‘तटबन्ध नहुँदा बाढी बस्तीमा पस्ने खतरा बढेको छ ।’ तटबन्ध निर्माण नभएका कारण राप्तीसोनारीको ६ र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वा लगायत गाउँ र नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा, कुडुवा लगायत बस्ती जोखिममा रहेका छन् ।

बस्ती जोगाउन निर्माण भएको तटबन्ध भत्किएका कारण राप्ती नदीमा ठूलो बाढी आयो भने राप्तीसोनारी गाउँपालिका–६ र ७ मा रहेका बस्तीमा क्षति हुने अवस्था आएको ७ नं वडाध्यक्ष रामलखन थारूले बताए । यसबारे राप्तीसोनारी गाउँपालिका, जनताको तटबन्ध लगायत सरोकारवाला निकायलाई बारम्बार जानकारी गराए पनि मर्मत सम्भारको पहल नभएको उनको गुनासो छ ।

बाँकेस्थित राप्ती नदीको आसपासका स्थानीयले हरेक वर्षको बर्खायाममा बाढीका कारण जग्गा कटान र डुबानको समस्या भोग्दै आएका राप्तीसोनारी गाउँपालिका–६, जरैयाका भक्तिराम पाण्डेले बताए । गत वर्ष बाढीले आफ्नो एक बिघा जमिन कटान गरेको उनले बाँकी बचेको एक बिघा जमिन पनि बाढीले कतिबेला लैजान्छ भन्ने चिन्ताले सताएको बताए । राप्तीसोनारी गाउँपालिका–६ मा नदी किनारको खल्लाटेपरी, जरिया र ढलेया बाढीबाट जोखिममा रहेको उनले जानकारी दिए ।

बाँकेमा राप्ती नदीले गर्दै आएको कटान नियन्त्रणका लागि तय भएको पश्चिम राप्ती नदी नियन्त्रण आयोजना सुरु नहुँदा कटान तथा डुबानको समस्या छ । सो आयोजना अन्तर्गत राप्ती नदीको कटान नियन्त्रण गर्न करिब ३५ किलोमिटर तटबन्ध र अन्य संरचना प्रस्ताव गरिएको छ । भारत सरकारको जल संसाधन, नदी विकास एवं गङ्गा संरक्षण विभागसँगको सम्झौता अनुसार नेपाल सरकारले आयोजना कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको हो ।

आर्थिक वर्ष २०८४–०८५ सम्ममा सम्पन्न गर्ने गरी रु १० अर्ब ४४ करोड ८१ लाखको लागतमा आयोजना अन्तर्गत बाँकेको राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा राप्ती नदीमा बायाँतर्फ १५ दशमलव ४६२ किलोमिटर र दायाँतर्फ १९ दशमलव ३७१ किलोमिटर तटबन्ध निर्माणको तयारी भइरहेको छ । पानीको प्राकृतिक प्रवाह नै अवरुद्ध हुने गरी भारतले बाँकेको होलिया नजिकै एकतर्फी रूपमा १३ किलोमिटर लामो कलकलवा तटबन्ध निर्माण गरेपछि नेपालबाट दक्षिण बग्ने खोलानालाको प्राकृतिक प्रवाह रोकिँदा नेपाली भूमि डुबानमा पर्दै आएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार १८:३१

लोकप्रिय