सूचनाको शक्ति - The Power Of Information

        

आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

वाग्मतीसहित विभिन्न प्रदेशमा गएरातिदेखि नै वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षा पनि भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा आज बिहान हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । महाशाखाले राति देशभर साधारणतया बदली रहने बताएको छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । भारीदेखि धेरै भारी वर्षा हुने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम हुने भएकाले सतर्क हुन महाशाखाको आग्रह छ ।

दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले बताएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार ०६:२५

लोकप्रिय