पश्चिम नेपालको केन्द्र बाँके जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने क्रम विगतको तुलनामा उल्लेख्य मात्रामा घटेको देखिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक वर्ष २०८०–०८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ३३ हजार बढी सवारी साधनलाई कारबाही गरेको तथ्याङ्क सार्वजनिक गर्दै अघिल्लो आर्थिक वर्ष २०७९–०८० मा ४३ हजार ८४० वटा सवारी साधनलाई कारबाही गरेको जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यो तथ्याङ्कले नै अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १० हजारभन्दा कम सवारी साधनले ट्राफिक नियम उल्लङ्घन गरेको पाइएको छ ।
आर्थिक वर्ष २०८०–०८१ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ३३ हजार ९१३ वटा सवारी साधनलाई कारबाही गरिएको हो । ती सवारी साधनहरूलाई कारबाही गरेर दुई करोड ६५ लाख ७६ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जिल्लामा आर्थिक वर्ष २०७९–०८० मा ट्राफिक प्रहरीले ४३ हजार ८४० वटा सवारी साधनलाई कारबाही गरेको बताए । उक्त कारबाहीबाट ट्राफिक प्रहरीले २ करोड ६१ लाख ९७ हजार जरिवाना असुल गरिएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७८–०७९ मा ट्राफिक प्रहरीले बाँकेमा ३९ हजार ८४५ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेकोमा कारबाही गरेको थियो । सो आर्थिक वर्षमा ट्राफिक प्रहरीले २ करोड २५ लाख ६७ हजार ५०० रुपैयाँ जरिवाना असुल गरेको थियो ।
ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानमा दैनिक रूपमा ट्राफिक नियम सम्बन्धी सचेतना अभियान सञ्चालन गर्दै आएको र नियमित चेकजाँचको कार्य गर्दै आएकोले ट्राफिक नियम उल्लङ्घनका घटनाहरूमा उल्लेखनीय रूपमा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक सुवेदीको भनाइ छ ।
उनले विशेषगरी महेन्द्र राजमार्ग, रत्न राजमार्ग, नेपालगन्ज कोहलपुर सडकखण्ड र जिल्लाका अन्य विभिन्न स्थानमा दैनिकसजो ट्राफिक सचेतनाका कार्यक्रमहरू गर्दै आएको बताए । सो क्रममा विभिन्न सवारी साधनका चालकहरूलाई रोकेर भेला गरी ट्राफिक नियमका बारेमा जानकारी गराई ट्राफिक नियम उल्लङ्घन नगर्न आग्रह गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके