धार्मिक पर्यटकीय क्षेत्रका रूपमा चर्चामा आएको बाँकेको नरैनापुरस्थित सन्तानेश्वर मन्दिर पूर्वाधार विकासको पर्खाइमा रहेको छ ।
साउन महिनामा सन्तानेश्वर मन्दिर पुग्ने धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गए पनि मन्दिर क्षेत्र पुग्ने सडक, भक्तजन बस्ने विश्रामस्थल, खानेपानी र बिजुलीबत्ती नहुँदा दुःख कष्ट व्यहोर्नुपरेको मन्दिरका मुख्य पुजारी गुरु योगानन्द गिरीले जानकारी दिए ।
‘बाँकेसम्म आउने बाटो राम्रो छैन, पानी पर्दा भक्तजनलाई ओत लाग्ने आश्रयस्थल छैन,’ मुख्य पुजारी गुरु योगानन्द गिरीले भने, ‘गर्मीको समयमा लामो पैदलयात्रा गरेर आएका भक्तजनलाई खानेपानीको समेत व्यवस्था गर्न सकिएको छैन ।’
नेपालगन्जदेखि करिब ३० किलोमिटर टाढा पर्ने सन्तानेश्वर मन्दिर पुग्न करिब छ किलोमिटर जङ्गलको कच्ची बाटोमा मोटरसाइकल यात्रा र त्यसपछि करिब दुई किलोमिटर पैदलयात्रा उकालो पहाड चढ्नुपर्छ । पहाडको टाकुरामा सन्तानेश्वर मन्दिर रहेको छ ।
मन्दिरभन्दा करिब ५०० मिटर तल फुसले छाएको कच्ची छाप्रोलाई मन्दिरका मुख्य पुजारी गिरीले आश्रयस्थल बनाएका छन् । सन्तानेश्वरमा तत्काललाई खानेपानी, बिजुलीबत्ती र भक्तजनका लागि आश्रयस्थल अत्यावश्यक छ ।
सन्तानेश्वर मन्दिर क्षेत्रका पूर्वाधार विकासमा स्थानीय सरकारले सहयोग गर्न नसकेको पुजारी गिरीको भनाइ छ । साउनमा सामूहिक रूपमा सन्तानेश्वर मन्दिर पुगेर पूजाआजा गर्नेको यतिबेला दैनिक रूपमा लर्को लाग्ने गरेको छ ।
सोमबारको दिनमा नेपालको बाँके, बर्दिया, दाङ लगायत छिमेकी मुलुक भारतको टाढा टाढाबाट भक्तजन सन्तानेश्वर मन्दिर आउने गरेको पुजारी गिरीले जानकारी दिए । साउनको महिनामा सोमबारे ब्रत बसेका महिला तथा युवायुवती दुःख कष्टका साथ सन्तानेश्वर मन्दिर पुगेर पूजाआजा गर्ने प्रचलन बढ्दै गएको छ ।
पर्यटनको राम्रो सम्भावना बोकेको सन्तानेश्वर मन्दिरमा जाने व्यवस्थित सडक नहुँदा कठिनाइ हुने गरेको छ । राप्तीसोनारी गाउँपालिकास्थित भुवर भवानी, नेपालगन्जको बागेश्वरी र नरैनापुरको सन्तानेश्वर महादेव मन्दिरलाई जोडेर धार्मिक पर्यटन मार्गको काम गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके