सूचनाको शक्ति - The Power Of Information

        

आरजुलाई जोगाउन डिआइजीको सरुवा

नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धान गरेका र त्यससँग जोडिएका फरार अभियुक्तलाई पक्राउ गरेको आरोपमा डिआइजी मनोज केसीलाई काज सरुवा गरिएको छ । नेपाल प्रहरीमा सफल अनुसन्धान विज्ञका रुपमा रहेका केसीको सरुवाले निकै हलचल ल्याएको छ । राम्रो काम गर्नेलाई पुरस्कृत गर्नुपर्नेमा ओली सरकारको यस्तो कार्यको आलोचना भएको छ ।

अपराध अनुसन्धानमा नेपाल प्रहरी दक्षिण एसियामै अब्बल मानिन्छ । बलियो संस्थालाई कमजोर पार्न सरकारले गरेको यस्तो निर्णयले अब्बल प्रहरीहरूको मनोबल घटाएको छ । एक जना शक्तिशाली आरोपीलाई जोगाउन सत्ता समीकरण फेर्नु, अनुसन्धानमा अब्बल डीआइजीको सरुवा गर्नु कुशासनको ज्वलन्त उदाहरण हो । केसी बढुवा भएपछि पदस्थापन भएको दुई महिनामै उनलाई प्रहरी प्रधान कार्यालयस्थित विशेष ब्यूरोबाट एकेडेमी पठाइएको छ ।

डीआइजीमा बढुवा भएपछि उनलाई विशेष ब्यूरोमा पदस्थापन गरिएको थियो । तर, सरकार परिवर्तन भएसँगै पहिलो निशानामा केसी परेका हुन् । केसी नक्कली भुटानी शरणार्थीको फाइल अगाडि बढाउने अब्बल अधिकृत थिए । उनी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाइएको थियो । पछिल्लोपल्ट बेचन झालाई पनि प्रहरी महानिरीक्षक वसन्त कुँवर विदेश रहेका बेला भारतबाट ल्याइएको थियो ।

भारतीय प्रहरीले बेचन र प्रतीक थापालाई पक्राउ गरेर विशेष ब्यूरोसँग समन्वय गरी नेपाल पठाएको थियो । त्यही झोंकमा केसीको सरुवा गरेबाट नक्कली भुटानी प्रकरणमा क–कसको संरक्षण रहेछ भन्ने कुरा पुष्टि भएको छ । एउटा गरीब नेपालीसँग लाखौँ लिएर नेपालीलाई नक्कली भुटानी नागरिक बनाउने कुरा राष्ट्रघाती मात्र होइन, जधन्य अपराध पनि हो । त्यस्ता अपराधि पक्राउ गर्नु प्रहरीको कर्तव्य हो । तर, कर्तव्य पालना गर्दा ‘सजाय’ दिइन्छ भने त्यसले सिंगो देश अपराधीकरणतर्फ उन्मुख हुन्छ ।

राज्यले प्रहरीप्रति गरेको यस्तो व्यवहारले संगठनको मनोबलसमेत कमजोर भएको छ । भीआइपीको संलग्नताबारे सूचनाका लागि महत्वपूर्ण ठानिएका बेचनमाथिको अनुसन्धान विचाराधीन नै छ । प्रतीक भने अघिल्लै मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । त्यहाँ कार्यरत केसीकै ब्याची राजन अधिकारीलाई विशेष ब्यूरोमा ल्याइएको छ । पछिल्लो समय केसीको प्रहरी महानिरीक्षक कुँवरसँग पनि सम्बन्ध बिग्रिएको थियो । बालकृष्ण खाण पक्राउ पर्दा पनि आइजी कुँवरले एआइजी श्याम ज्ञवालीलाई मेरो जानकारी बेगर किन पक्राउ गरेको भनेर उनको सरुवा गरिएको थियो ।

नक्कली भुटानी शरणार्थीका पावर ब्रोकर बेचन झा पक्राउ पर्नासाथ बूढानीलकण्ठमा भुइँचालो गयो । आरजु राणासँग धनिष्ट सम्बन्ध भएका झा उक्त प्रकरणका मुख्य अभियुक्त हुन् । आरजुले नै तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई फोन गरेर ‘उनको काम गरिदिन’ आदेश दिएकी थिइन् । झा प्रहरी हिरासतमा छन् । उनले प्रहरीमा बयान दिन मानेका छैनन् । झाको बयानमा कतै आरजुको नाम पनि जोडिने हो कि भन्ने डरले विशेष ब्यूरो प्रमुख केसीलाई सरुवा गरिएको हो ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलवार ११:५८

लोकप्रिय