राजस्व अनुसन्धान विभागको नाममा ठगी गर्दै हिँड्ने उपेन्द्र शाहीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले खोजी गर्दैछ । एआइजी श्याम ज्ञवालीका अनुसार पीडितहरुले ठगीको विषयमा लिखित निवेदन दिएको खण्डमा कारबाही गर्ने तयारी गरेको छ ।
स्रोतका अनुसार आफूलाई राजस्व अनुसन्धान विभागको कर्मचारी बताएर विभिन्न व्यापारिक घरानालाई फोन गर्ने शाहीले अर्कैको नामको मोबाइल सीम प्रयोग गरेका थिए । शाहीको ठगी धन्दाबारे केही अनलाइनहरुले समाचार प्रकाशित गरेपछि शाही भागेर परिवारसहित नेपालगन्ज पुगेका थिए ।
नेपालगन्ज पुगेर शाहीले प्रयोग गरेको ९७०४५४१००४ को मोबाइल स्वीचअफ गरेका थिए । उक्त नम्बर एकजना मुसलमानको नाममा भएको स्रोतले बताएको छ । ती मुसलमान पनि अनुसन्धानको घेरामा परेका छन् । आफूलाई इन्जिनियर बताउने शाहीले यसभन्दा अगाडि पनि पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खातीको नाम लिदै मुद्दा मिलाइदिने भन्दै ठगीधन्दा चलाएका थिए ।
एआरएमसी नामक कन्सल्टेन्सी सञ्चालन गरेका शाहीको पाटर्नर उद्धव चौलागाईँ भएको बुझिएको छ । यी दुवै मिलेर वर्षौंदेखि ‘पावर ब्रोकर’को काम गर्दै आएको स्रोतले बताएको छ । स्रोतका अनुसार शाहीले डोलिडारका कर्मचारीहरुलाई थर्काएर ६० करोडको सडकको ठेक्का हात पारेको छ । सो ठेक्कामा २० करोड घोटाला भएको विषयमा अख्तियारले छानबिन गरेको छ ।
शाहीले राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्र बुढालाई भिनाजु नाता लगाउँदै आएका छन् । त्यही नाताको दुरुपयोग गरेर शाहीले व्यापारीहरुलाई थर्काउने, ब्ल्याकमेलिङ गर्ने गरेका थिए । कतिपय व्यापारी, बैंकर, दूरसञ्चार प्रदायक र इभी गाडीका डिलरहरुलाई विभागको पुल्चोकस्थित कार्यालयमा बोलाएर महानिर्देशक बुढासँग भेटाउने गरेका थिए । यस विषयमा अख्तियारले बुढालाई सोधपुछ गरेको छ ।
महानिर्देशक बुढाले आफ्नो घर जाजरकोट भएको र श्रीमतीको थर शाही परेकोले उपेन्द्रले आफूलाई भेनाजु नाता जोडे पनि उनीसँग कुनै नाता नभएको जानकारी दिए । शाहीसँग कसरी परिचय भयो त भन्ने जिज्ञासामा महानिर्देशक बुढाले भने, ‘म यहाँ आएपछि मलाई भेट्न आयो । राजस्व छलीका ठूलाठूला प्रमाण मसँग छ भन्यो । सूचना तपाईँलाई सहयोग गर्न सक्छु भन्यो, मैले पनि हुन्छ भने, त्यही हो ।’
तर शाहीले त्यही बहानामा ‘राजस्व अनुसन्धान विभाग’को नाममा ‘कलर आइडी’ बनाएर व्यापारीहरुलाई थर्काउने गरेका थिए । उक्त मोबाइल नम्बरबाट उच्च घराना, बैंकर, ठेकेदार र दूरसञ्चार प्रदायकलाई ‘कल’ गरेको देखिन्छ । तर, कुन व्यापारीसँग कति रकम असुल्यो भन्ने कुरा नदेखिएको कारण सिआइबीले कारबाही अगाडि बढाउन सकेको छैन ।
राजस्व अनुसन्धान विभागका कर्मचारीहरुले शाहीलाई चिन्दैनन् । कहिलेकाहीँ महानिर्देशकलाई भेट्न आएको अनुहार भने सम्झन्छन् । राजस्व अनुसन्धान विभागको नाममा ठगी गर्ने बिचौलियाको संख्या ठूलो छ । केही बिचौलियालाई महानिर्देशक बुढाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरीलाई बुझाएको बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं