सूचनाको शक्ति - The Power Of Information

        

एआइजीलाई थाहै नदिई लेखापालहरुको मनपरी सरुवा

नेपाल प्रहरीभित्र मनपरी रुपमा लेखापालहरुको सरुवा भएको छ । असार मसान्तभित्र गरिसक्नु पर्ने सरुवा झण्डै दुई सातापछि आएर ठूलो आर्थिक चलखेल गरी सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयले हरेक वर्षको असार मसान्त भित्र लेखापालहरूको सरुवा गर्नुपर्ने प्रावधान छ ।

गृह मन्त्रालयका उच्च कर्मचारी, आइजीपी बसन्त कुँवर, आर्थिक प्रशासन महाशाखाका प्रमुख डिआइजी केदार ढकालले ठूलो आर्थिक चलखेल गरी लेखापालहरुको सरुवा गरेको आरोप छ । ढकाल यसै वर्ष अवकाश पाउने भएपनि उनकै योजना मुताविक आइजीपीले लेखापालको सरुवा गरेका छन् ।

आइजीपी कुँवरको पनि यो वर्ष अन्तिम भएकाले लेखापालको सरुवामा ठूला रकम चलखेल भएको स्रोतले जनाएको छ । दुई वर्ष लेखापाल भएर काम गरेकाहरूको असार मसान्तमा सरुवा गर्नुपर्ने प्रावधान छ । यो पटक प्रावधान मिचेर आर्थिक वर्ष सुरु भएको दुई साता लाग्न लाग्दा लेखापालको सरुवा गरिएको छ ।

प्रहरीका केही अधिकारीहरू विदेश गएर आएकाले सरुवामा ढिला भएको तर्क गरिएको छ । कांग्रेस र एमालेबीच १७ असारमै नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । १९ असारमा एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लेखापाल सरुवामा असर परेको थियो ।

ठूला बजेट चलाउने कार्यालयमा जान लेखापालहरूको प्रतिस्पर्धा नै हुन्छ । यसमा आफन्त र रकम चढाएर त्यो कार्यालयमा रस्साकस्सी नै चल्छ । लेखापालहरूको सरुवा प्रहरी प्रधान कार्यालयको प्रशासन विभागले गर्ने भएपनि व्यापक राजनीतिक हस्तक्षेप हुन्छ । यतिबेला प्रशासन विभागको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई छन् ।

उनले समयमै सरुवा गराउन सकेनन्, उनलाई समेत थाह नदिई डिआइजी ढकालले बनाएको सरुवा सूचीमा आइजीपीले सदर गरिदिए । ३० असारमा नयाँ सरकार बन्यो भने ३१ असारमा रमेश लेखक गृहमन्त्री बने । एउटा कार्यालयमा दुई वर्ष काम गरेका र लेखापालको पदावधि साढे ५ वर्ष पुरा गरेकाहरूलाई सरुवा राखिएको बताइएको छ ।

सरुवा अनुसार प्रहरी प्रधान कार्यालयस्थित कल्याण महाशाखामा रविन ढकाल र केन्द्रीय अनुसन्धान ब्यूरोमा रवीन्द्र थापालाई पठाइएको छ । शेखरजंग मल्ललाई कोशी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । इन्स्पेक्टर सविनकुमार संग्रौला राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा र वरिष्ठ सई अजयकुमार खनाल मुस्ताङमा सरुवा भएका छन् । अर्का सई शिवराज उप्रेतिले हुम्ला बाजी मारेका छन् ।

बाँकेमा वरिष्ठ सई कमलकान्त पुनलाई पठाइएको छ । सञ्जीव कार्कीलाई सोलुखुम्बू पुगेका छन् । विशेष ब्यूरोको लेखा प्रमुखमा इन्स्पेक्टर टिकाराम राईलाई पठाइएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा डेकेन्द्र शर्मा, मधेस प्रहरी कार्यालयमा दिनेश प्रसाद खरेल, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा दीपेन्द्र भट्ट र अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्या इन्स्पेक्टर दीपेश खरेल सरुवा भएका छन् ।

महाराजगन्ज स्थित प्रहरी अस्पतालमा ध्रुवबहादुर विष्टलाई सरुवा गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयमा निशेष चापान बागमती प्रदेशमा प्रकाश शाहलाई पठाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विजयबहादुर घलेलाई पठाइएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलवार ०८:४२

लोकप्रिय