सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा दुईको शव भेटियो, पहिचान भएन

नेपालगन्ज उपमहानगरपालिका–१८ मा एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन् । एक युवक र एक जना वृद्ध मृत फेला परेको र उनीहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले नेपालगन्ज १८ मा मृत अवस्थामा फेला परेका दुवैको पहिचान खुल्न नसकेकाले पहिचानका लागि विभिन्न माध्यमबाट सर्वसाधारणलाई सार्वजनिक जानकारी गराइएको बताए ।

उनले दुवै शवको पहिचान नखुलेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले सूचना जारी गरेर चिन्ने व्यक्तिले प्रहरीमा सम्पर्क गर्न अनुरोध गरेको बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, नेपालगन्ज–१८ स्थित धान खेतमा एक पुरुषको शव फेला परेको छ ।

दुवै शवको पहिचान नखुलेपछि प्रहरीले गहुँगोरो वर्णको, कालो कपाल, सेतो टिसर्ट, कालो जिन्स पाइन्ट लगाएको, उचाइ ५ फिट ५ इन्च रहेको २५–२६ वर्षको युवक मृत फेला परेको जनाउँदै उनको हुलिया सार्वजनिक गरेको छ ।

सोही प्रकारले प्रहरीले नेपालगन्ज–१८ मा मृत फेला परेका अर्का एकजना वृद्ध व्यक्तिको हुलिया विवरण सार्वजनिक गर्दै उहाँको गहुँगोरो वर्ण, कपाल फुलेको, आकासी रङको टिसर्ट, भान्टा रङको जिन्स पाइन्ट, हरियो चप्पल लगाएको, ५ फुट २ इन्चको लम्बाइ भएको अन्दाजी ७२ वर्षको पुरुष रहेको जनाइएको छ ।

प्रहरीले उनको पहिचान पनि हुन नसक्दा कसैले चिन्नुहुन्छ भने जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । मृत फेला परेका दुवै व्यक्तिको पहिचान नखुलेपछि जिल्ला प्रहरी कार्यालय बाँकेले आफ्नो सामाजिक सञ्जालको आधिकारिक पेजमा पहिचानका लागि दुवै जनाको तस्वीरसहित विवरण सार्वजनिक गरेर पहिचान गर्ने प्रयास गरिरहेको प्रहरी प्रवक्ता डिएसपी डाँगीले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार १५:३३

लोकप्रिय