सूचनाको शक्ति - The Power Of Information

        

हरिया चुरा, पोते र मेहेन्दीप्रति महिलाको आकर्षण

नेपालगन्जको एकलैनीमा हरियो चुरा खरिद गर्दै महिला ।

साउन महिना सुरु भएसँगै नेपालगन्जमा कपडा, चुरा, पोते र मेहन्दीको पसलमा छुटै रौनक देखिएको छ । हरियो पोशाक, चुरा र पोते किन्ने महिलाको स्थानीय कास्मेटिक, कपडा, चुरा र पोते पसलमा भिडभाड लागेको छ ।

यो महिनामा महिलाले हरियो चुरा, पोते र पोशाक बढी खरिद गर्ने भएकाले अधिकांश पसलमा हरिया चुरा, पोते र पहिरन सजाएर राखिएको स्थानीय अगुवा महिला कल्पना शर्माले बताइन् । उनले पछिल्लो समय साउनलाई फेसनको रुपमा लिँदा हरिया पहिरन, चुरा, पोते, टिकुली र मेहेन्दीको व्यापार बढेको बताइन् ।

शर्माले थपिन्, ‘विवाहित हुन् या अविवाहित, हरिया पहिरनमा अधिकांश महिलाको आकर्षण बढ्दैगएको छ । विवाहित महिलाले सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् । अविवाहित युवतीले पनि आर्कषण र रमाइलोका लागि हरियो चुरा, हरिया पहिरन र मेंहन्दी लगाउने गर्दछन् ।’

सोही कारणले साउनमा नेपालगन्जका अधिकांश चुरा व्यापारीलाई पनि भ्याइनभ्याई छ । अहिले बिहानदेखि साँझसम्म चुरा, मेहन्दी, टिकाको राम्रो कारोबार भइरहेको स्थानीय एकलैनी बजारका चुरा व्यवसायी मोनु हलवाईले बताए । साउनलाई लक्षित गरी नेपालगन्जको एकलैनी, सदरलाइन, घरबारीटोल र बागेश्वरी मन्दिर परिसर लगायतका स्थानमा चुरापोते, टिकुली, मेहेन्दी र पोशाकको ब्यापार बढी हुने गर्दछ ।

एकलैनीमा कस्मेटिक पसल चलाउने मीना लखेरले अरुबेला चुरा धेरै नबिक्ने भए पनि साउन महिना माग अत्यधिक हुने गरेको बताइन् । उनले अरुबेला दैनिक बीस दर्जन बिक्री हुने चुरा साउनमा दिनहुँ सय डेढसय दर्जनभन्दा बढी बिक्री हुने गरेको बताइन् । यस्तै एकलैनीका अर्का ब्यापारी राजु गुप्ताले पनि हरेक वर्ष साउनमा आफ्नो पसलमा महिलाको अत्यधिक भिड हुने गरेको बताए ।

नेपालगन्जका विभिन्न ब्यूटिपार्लरमा अहिले मेहेन्दी लाउनेको घुँइचो लागेको छ । यहाँ चुरा, पोते र मेहेन्दी विशेषगरी भारतबाटै ल्याइने गरेको व्यापारीहरुको भनाइ छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रुपमा लिइन्छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतवार १७:०५

लोकप्रिय