२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

मुकेश अम्बानीले कसरी बनाए विश्वकै ठूलो आँप बगैंचा ?

सत्यपाटी
सत्यपाटी । काठमाडौं । २०८१ साउन १३ गते आइतबार

भारतीय व्यवसायी मुकेश अम्बानीको व्यवसायिक साम्राज्य निकै ठूलो छ । उनलाई झट्ट सम्झँदा रिलायन्स जियो, रिलायन्स रिटेल र रिलायन्स पेट्रोल पम्प आदि कम्पनीहरू दिमागमा आउन सक्छ । तर, मुकेश अम्बानी आँपको पनि व्यापार गर्छन् भन्ने कुरा कमैलाई थाहा छ । हो, आँप निर्यातबाट मुकेश अम्बानीले मनग्य आम्दानी गर्दै आएका छन् ।

रिलायन्स इन्डस्ट्री भारतको सबैभन्दा ठूलो कम्पनी हो । यस कम्पनीका अध्यक्ष मुकेश अम्बानी भारत र एसियाका दोस्रो धनी व्यक्ति हुन् । रिलायन्सको व्यापार धेरै क्षेत्रमा फैलिएको छ । त्यसमध्ये पेट्रोलियम, टेलिकम र रिटेल प्रमुख हुन् । तर, रिलायन्स विश्वको सबैभन्दा ठूलो आँप निर्यातक कम्पनीहरू मध्येको पनि एक हो ।

कम्पनीको गुजरातको जामनगरमा आँपको बगैँचा (रिलायन्स म्यांगो फार्म) छ । उक्त आप बगैँचा ६०० एकडमा फैलिएको बताइएको छ । जसमा डेढ लाखभन्दा बढी आँपका रुख रहेका छन् । यस बगैँचामा २०० भन्दा बढी स्वदेशी तथा विदेशी जातका आँपका रुख रोपिएका छन् ।

कसरी सुरु भयो अम्बानीको आँप रोप्ने अभियान ?

रिलायन्स गुजरातको जामनगरमा रिफाइनरी छ । यो संसारको सबैभन्दा ठूलो रिफाइनरी मध्ये एक हो । यसबाट हुने प्रदूषण कम गर्न रिलायन्सले आँपको बगैँचा १९९८ रोप्न सुरु गरिएको थियो । कम्पनीको मुख्य उद्देश्य आँप उत्पादन गर्नु नभई भारतीय कानुन पालना गर्नको लागि आँप रोप्न थालिएको बताइएको छ ।

भारतीय कानुनले प्रदूषण कम गर्नको लागि कम्पनीलाई रुख रोप्न सुझाव दिएसँगै रुख पनि हुने भविष्यमा फल पनि देश उद्देश्यसहित अम्बानी परिवारले यो कदम चालेको थियो । कम्पनीले आँपको बगैंचा स्थापना गर्ने निर्णय गरी जामनगर रिफाइनरी नजिकै बाँझो जमिनमा आँपको रुख रोप्ने प्रक्रिया सुरु गरेको हो । सुरुमा यो परियोजनाको सफलतामा धेरै शंकाहरू थिए ।

त्यहाँ निकै तेज हावा चल्थ्यो भने पानी पनि नुनिलो थियो । आँप खेतीका लागि जग्गा उपयुक्त थिएन । तर कम्पनीले प्रविधिको सहयोग लिएर यो आयोजनालाई सफल बनायो । कम्पनीका संस्थापक धीरुभाई अम्बानीको नामबाट यस बगैँचाको नाम धिरुभाई अम्बानी लखीबाग अमरेई राखिएको हो । ६०० एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको यो बगैचालाई अहिले विश्वकै ठूलो आँपको बगैँचा मानिन्छ ।

यसका लागि पानी कम्पनीको डिसेलिनेशन प्लान्टबाट आउँछ । यो प्लान्टबाट समुद्रको पानी सफा गरिन्छ । पानीको अभावको समस्या समाधान गर्न, पानी संकलन र ड्रिप सिँचाइ जस्ता प्रविधिहरू पनि व्यापक रूपमा प्रयोग गरिएको छ । केसर, अल्फोन्सो, रत्न, सिन्धु, निलम, आम्रपाली जस्ता स्वदेशी जातका अलावा यस बगैँचामा विदेशी जातका आँपका रूख छन् ।

यसमा अमेरिकाको फ्लोरिडाका टमी एटकिन्स र केन्ट र इजरायलका लिली, केइट र माया प्रजातिहरू समावेश छन् । यस बगैँचामा उत्पादन हुने आँप विश्वका धेरै देशमा निर्यात हुँदै आएको छ । यस बगैँचाको कमाण्ड मुकेशकी पत्नी नीता अम्बानीको हातमा छ । यस बगैँचामा फल्ने आँपको एनआरआई गुजरातीहरूमा उच्च माग छ ।

धीरुभाई अम्बानीलाई आँप धेरै मन पर्थ्यो । मुकेश अम्बानी आफैं आँप प्रेमी हुन् । रिलायन्सको जामनगर रिफाइनरी ७ हजार ५०० एकडमा फैलिएको छ । त्यसमध्ये १६ सय एकडमा ग्रीन बेल्ट छ । यहाँ ३४ प्रजातिका रूखहरू छन्, जसमध्ये १० प्रतिशत आँपका रूख छन् । आँप बाहेक यसमा अमरूद, इमली, काजू, ब्राजिलियन चेरी, सपोटा, आरु, अनार र केही औषधीय रूखहरू पनि छन् ।

प्रतिएकड आँपको उत्पादन करिब १० मेट्रिक टन हुन्छ । जुन ब्राजिल र इजरायलको भन्दा बढी हो । रिलायन्सले आफ्नो बगैंचामा उब्जाएको फलफूलको बजारीकरणका लागि छुट्टै कम्पनी जामनगर फार्म प्राइभेट लिमिटेड स्थापना गरेको छ । कम्पनीले आरआइएल म्याङ्गो ब्रान्ड नामबाट आँप बिक्री गर्दै आएको छ । अहिले यस बगैँचाभित्र करिब ५०० कर्मचारी कार्यरत छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८१ साउन १३ गते आइतबार