स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिए । उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले भने, ‘हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ । ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो । ढलबाट मिसिएको हुनसक्छ । शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ । हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ ।’ हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखाला सम्बन्धी रोग हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले भने, ‘हैजाका जीवाणु सङ्क्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ ।’ हैजा सङ्क्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरु देखा पर्छन् । हैजा सङ्क्रमण भयो र उपचार पाएन भने केही घण्टामै सङ्क्रमितको मृत्यु पनि हुनसक्ने विज्ञ बताउँछन् ।
डा पुनका अनुसार यसका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ । कडा लक्षण देखिएमा आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुनु, तिर्खा लाग्नु, छाला सुक्खा हुनु, रक्तचाप कम हुन, पिसाब पहेँलो हुनु र पिसाबको मात्रा कम हुने हुन्छ । डा पुनले मुख्यतः तीन वटा कुरामा ध्यान दिन सके हैजालाई नियन्त्रणमा राख्न सकिने बताउँछन् ।
पहिलो सुरक्षित पानी, व्यक्तिगत सरसफाइ र अर्को अनुगमन । उनले सबैभन्दा महत्वपूर्ण पाटो सफा र स्वच्छ पानी सेवन गर्नुपर्ने बताउँछन् । ‘हैजा दुषित पानीबाट एकदमै सहज र सरल तरिकाले फैलिने गर्दछ । धाराको पानी मान्छेले उमालेर वा फिल्टर गरेर खान्छन् तर जारको पानी धेरैले त्यसो गर्दैनन्,’ उनले भने, ‘किनेको पानी पिउनयोग्य नै छ भनेर सिधै खाइन्छ । विद्यालयदेखि लिएर कार्यालयदेखि लिएर सार्वजनिक स्थलमा जारको पानी राख्ने चलन छ ।’
कतिपय व्यवसायीहरुले प्रशोधित नै नगरेका पानी बजारमा पठाउँदा रहेछन् । जसले गर्दा हैजाको संक्रमण फैलिने उनले बताए । उनले व्यक्तिगत सरसफाइ व्यवहारमा लागू भएको नदेखिएको बताउँछन् । डा पुनले भने, ‘शौचालयको व्यवस्थापन राम्रो हुनुपर्छ । शौचालयको व्यवस्थापन कमजोर हुँदा हैजालगायत पानीजन्य रोगहरु फैलिन सक्छ । दिसामा रहेका जीवाणुहरु कुनै कारणले गर्दा बगेर फेरि हाम्रो खानेपानीमा आइपुग्छ ।’
शौचालयको प्रयोग गरेपछि साबुन पानीले मिचिमिचि हात धुन जरुरी रहेको उनले बताए । डा पुन कतिपय व्यापारीले प्रशोधन नै नगरी पानी बजारमा ल्याइदिँदा खेरी मानिसहरु बिरामी हुने भएकाले सम्बन्धित निकायले नियमित अनुगमनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्छन् । उनले भने, ‘अनुगमन कडाइका साथ गर्ने हो धेरै हदसम्म नियन्त्रणमा आउँछ । किनभने विकसित देशमा पानीजन्य रोगहरु अत्यधिक कम छ ।’
हैजा लगायत पानीजन्य रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी पिउने, खानेकुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनु अघि र खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नुअघि, बाहिर सामान छोएपछि साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिचि हात धुनुपर्ने विज्ञहरुको सुझाव छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं