सूचनाको शक्ति - The Power Of Information

        

उपराष्ट्रपति कार्यालयको गेटमा ‘बेवारिसे भारतीय कार’ ?

तपाईंहरु हिजोसम्म दरबारमार्गस्थित दरबार मलतर्फ हिँडिरहनुभएको थियो भने एउटा कार मूल सडक छेउमै देख्नुभएको हुनुपर्छ । जसमा ट्राफिक प्रहरीले ‘ह्विल लक’ गरेर राखिदिएको थियो । ट्राफिकले नै त्यसरी ‘ह्विल लक’ गरेको कार देख्दा ट्राफिक नियम पालना नगरेको वा कुनै दुर्घटना गराएको होला भन्ने आशंका गर्नु सामान्य हो ।

तर, ट्राफिकले त्यसरी लक गर्नुको कारण चाहिँ कारले कुनै दुर्घटना र ट्राफिक नियम उल्लंघन गरेको भने होइन । प्रहरीले कार धनी सम्पर्कमा नआई बेवारिसे भेटेपछि लक गरेर सुरक्षित गरिदिएको हो । भारत तेलङ्गाना राज्यको टीएस ०९ युडी ३९५५ नम्बरको सेतो रंगको सुजुकी कार त्यसरी प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको हो ।

दरबारमार्ग प्रहरीका अनुसार उक्त कार १० दिनअघि नै दरबारमार्ग नभई लैनचौरस्थित उपराष्ट्रपति कार्यालयको गेट अगाडि बेवारिसे अवस्थामा फेला परेको हो । कारलाई क्रेनको सहयोगमा राखेर दरबारमार्गसम्म ल्याइएको हो । करिब १० दिन दरबारमार्ग सडकमै रहेको कारलाई बिहीबार भने ट्राफिक प्रहरी महाशाखामा ल्याइएको छ ।

प्रहरीले उक्त कार कसरी नेपाल आइपुग्यो र किन त्यसरी बेवारिसे अवस्थामा छाडियो भन्नेबारेमा अनुसन्धान थालिएको जनाएको छ । दरबारमार्ग ट्राफिक प्रहरीका प्रमुख इन्स्पेक्टर विशाल तामाङका अनुसार कार कसले र किन ल्याएको हो भन्नेबारेमा केही नखुलेको बताउँदै आफूहरुले बग्गीखाना पठाइएको जानकारी दिए ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १४:५९

लोकप्रिय