सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछानेमाथि आपतको संकेत

प्रतिपक्षी बेच्नमा हुँदा नेपाली काँग्रेसले सबैभन्दा बढी उठाएको विषय हो, सहकारी प्रकरण । सहकारी प्रकरणलाई लिएर काँग्रेसले सदन, सडक र सञ्जाल राम्रैसँग तताएको थियो । काँग्रेसले यो प्रकरणलाई यतिधेरै महत्वका साथ उठाउनुको मुख्य कारण हो, तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिनु । तत्कालीन गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणसँग जोडिएको विषयले सत्ता पक्ष र प्रतिपक्षीबीच लामो समय जुहारी चल्यो ।

सत्ता पक्षले रविको सक्दो बचाउ गर्दा पनि काँग्रेसले पछि नहट्ने अडान लियो । गृहमन्त्रीमा लामिछाने रहँदा काँग्रेसले उनीमाथि कारबाही गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने जोडदार माग राख्यो । यही अडानका कारण संसद बैठक पटक पटक प्रभावित बनेपछि सत्ता पक्ष सहकारी ठगी प्रकरणको सम्बन्धमा संसदीय छानबिन समिति बनाउन तयार भयो । काँग्रेसकै दबाबका कारण तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार लामिछानेको नाम उल्लेख नगरे पनि संकटग्रस्त सहकारीको छानबिन गर्ने भन्दै समिति बनाउन सहमत भएको थियो ।

एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित समितिलाई तीन महिनाको समयसीमा दिइएको छ । त्यही आधारमा समितिले पोखराको सूर्य दर्शन सहकारीको समेत छानबिन थालेको छ । सूर्यदर्शन बचत पीडित संघर्ष समितिले २०८० माघ २२ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेसहित ४ जना र १४ वटा कम्पनीको नामसहित किटानी पूरक जाहेरी कास्की प्रहरीलाई बुझाएको थियो । अहिले कास्की प्रहरीले सोहीबारे अनुसन्धान गरिरहेको छ ।

पूरक जाहेरी दिएको आधारमा प्रतिवादी बनाउने हो भने लामिछानेसहित पक्राउ पुर्जी जारी गरेर थप अनुसन्धान थाल्नु पर्ने पीडितहरूको माग छ । प्रहरीले पनि सूर्य दर्शन सहकारीको रकम हिनामिना प्रकरणसँग जोडिएका लामिछानेमाथि पुनः अनुसन्धान गर्ने तयारी थालेको छ । लामिछाने गोर्खा मिडिया ग्रुपद्वारा सञ्चालिन ग्यालेक्सी फोर के टेलिभिजनका प्रबन्ध निर्देशक थिए । त्यसबेला गोर्खा मिडिया ग्रुपमा सहकारीको रकम प्रयोग भएको खुलेको थियो ।

उक्त प्रमाणका आधारमा उनीमाथि अनुसन्धान अघि बढाउने तयारी प्रहरीले थालेको हो । यता, गोर्खा मिडिया ग्रुपका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) हाल फरार छन् । जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया ग्रुपले ग्यालेक्सी टेलिभिजन सञ्चालनमा ल्याएको थियो । टेलिभिजनका प्रबन्ध निर्देशकमा रवि लामिछाने थिए । सूर्य दर्शन सहकारीको एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना भएको थियो । जसमध्ये गोर्खा मिडिया ग्रुपमा मात्रै करिब १० करोडभन्दा बढी रकम सहकारीबाट आएको देखिएको छ ।

सूर्य दर्शन सहकारीबाहेक प्रहरीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरणमा पनि लामिछानेको नाम मुछिएको थियो । सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड रकम जम्मा भएको प्रहरीको अनुसन्धानबाट देखिएको थियो । छानबिन समितिले सहकारी र गोर्खा मिडिया ग्रुप तथा ग्यालेक्सी टेलिभिजनको सञ्चालक समितिको कागजात झिकाएको छ । सहकारी प्रकरणमा तत्कालीन गृहमन्त्री लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन गर्नुपर्ने माग गर्नेमध्येका एक हुन्, रमेश लेखक । उनी अहिले गृहमन्त्री बनेका छन् ।

त्यस्तै संसदीय समितिमा पनि अहिले सत्ता पक्षको बहुमत छ । त्यसैले सरकारले सहकारी काण्डमा आफूलाई ठग प्रमाणित गरी जेल हाल्न सक्ने लामिछाने आफै बताउँछन् । सत्ता परिवर्तनसँगै सहकारी प्रकरणमा अनुसन्धानको सुई आफूतिर घुम्दा रविलाई थप संकटमा पार्ने निश्चित छ । हिजो रविमाथि अनेकौँ प्रश्न उठाउने गृहमन्त्री लेखक र संसदीय समितिले चाल्ने कदमले रविको भविष्य निर्क्योल गर्ने देखिन्छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार १८:४२

लोकप्रिय