२०८२ मंसिर २० , शनिबार 6, December 2025, Saturday

बाँकेको ६८.३४ हेक्टर खाली जमिनमा वृक्षारोपण

सत्यपाटी
सत्यपाटी । बाँके । २०८१ साउन ९ गते बुधबार

डिभिजन वन कार्यालय बाँकेले यो वर्ष ६८ दशमलव ३४ हेक्टर खाली जमिनमा वृक्षरोपण गरेको छ । वृक्षरोपणअन्तर्गत विभिन्न जातका एक लाख १० हजार बिरुवा रोपिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नवराज शाहीका अनुसार एक हेक्टर जमिनमा एक हजार ६०० बिरुवाका दरले वृक्षरोपण गरिएको हो ।

कृषि वन तथा बृहत्तर हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत गौरी सामुदायिक वन क्षेत्रको चार, जलहन सामुदायिक वन क्षेत्रको २२, जलनधारा सामुदायिक वन क्षेत्रको ११, भुवर भवानी सामुदायिक वन क्षेत्रको तीन दशमलव ८१ र सिद्धेश्वर सामुदायिक वन क्षेत्रको सात दशमलव ५३ गरी ४७ दशमलव ३४ हेक्टर खाली जमिनमा उक्त बिरुवा लगाइएको सहायक वन अधिकृत शाहीले जानकारी दिए ।

डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वरिष्ठ वन अधिकृत वीरेन्द्र रोकाले राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत वन अतिक्रमण हटाई पुनरुत्पादन व्यवस्थापन गरी मितेरी सामुदायिक वनको ११ हेक्टर र समय भवानी सामुदायिक वनको पाँच हेक्टर गरी १६ हेक्टर जग्गामा वृक्षरोपण गरिएको बताए ।

उनका अनुसार वन, वन्यजन्तु, जैविक विविधता संरक्षण तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत पोखरा माता सामुदायिक वन क्षेत्रको १३ हेक्टर खाली जमिनमा तारबार गरिएको र पाँच हेक्टर जमिनमा वृक्षरोपण गरिएको छ । उक्त खाली जमिनमा खयर, असिना, मौवा, जामुन, बर्रो, बेल, विजयसाल, सिरिष, सिसौ, सावगन, पानन, काभ्रो, अमला, सतिसाल, श्रीखण्ड, राज वृक्ष लगायतका बिरुवा लगाइएको रोकाले बताए ।

सूचना अधिकारी रोकाले ६८ दशमलव ३४ हेक्टर खाली जमिनमा एक लाख १० हजार वृक्षरोपण तथा तारबार गर्न ६९ लाख ८० हजार खर्च भएको जानकारी दिए । डिभिजन वन कार्यालयले बर्सेनि सामुदायिक वन, अतिक्रमित क्षेत्र, नदीका किनारा, बगर लगायतका खाली क्षेत्रको पहिचान गरी वृक्षरोपण गर्दै आएको छ । आर्थिक वर्ष २०७९–०८० मा १११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार बिरुवा रोपिएको थियो ।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधबार