सूचनाको शक्ति - The Power Of Information

        

आज कुन-कुन प्रदेशमा हुँदैछ भारी बर्षा ?

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राति बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार ०७:०५

लोकप्रिय