सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा दैनिक ९७ सडक दुर्घटना, औसत सात जनाको मृत्यु

नेपालमा प्रत्येक दिन औसत ९७ वटा सानाठूला सवारी दुर्घटना हुने गरेका छन् । ती दुर्घटनामा परी दैनिक औसत सात जनाले ज्यान गुमाउने तथा ८८ जना घाइते हुने गरेका छन् ।

नेपाल प्रहरीका अनुसार गत वर्ष मात्रै ३५ हजार ४०४ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी दुई हजार ३६८ जनाको मृत्यु भएको छ भने छ हजार १६० गम्भीर र २५ हजार ९९६ जना साधारण घाइते भएका छन् ।

सवारी दुर्घटनामा १०१ चौपायासमेत मरेका छन् । सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी बढी दुर्घटनामा पर्ने गरेको प्रहरीको तथ्याङ्क रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

गतवर्ष १९ हजार ९८४ मोटरसाइकल/स्कुटर, छ हजार ८३७ कार/जिप, दुई हजार १९३ बस, एक हजार ५२० साइकल/रिक्सा, एक हजार ४६८ ट्रक/ट्याङ्कर, एक हजार ४७४ टेम्पो/म्याजिक, ७८३ ट्रयाक्टर र ४०० माइक्रोबस दुर्घटना भएका थिए ।

ट्राफिक प्रहरीले गत वर्ष २२ लाख ९१ हजार ८१७ वटा कारबाहीमा रु एक अर्ब ७५ करोड ८१ लाख ८६ हजार ७६० राजस्व सङ्कलन गरेको छ । गत वर्ष २४ लाख वटा ट्राफिक कारबाहीमा रु एक अर्ब ८८ करोड राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार १५:०४

लोकप्रिय