२०८२ कात्तिक २३ , आइतबार 10, November 2025, Monday

मनसुनजन्य विपदमा परी १३० जनाको मृत्यु, नौ बेपत्ता

सत्यपाटी
सत्यपाटी । काठमाडौं
२०८१ साउन ७ गते सोमबार

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायतका विपद्मा परी आज दिउँसोसम्म १३० जनाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२ जना, मधेस प्रदेशमा पाँच जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा सात जना र सुदूरपश्चिम प्रदेशमा नौ जना गरी जम्मा १३० जनाको मृत्यु भएको छ ।

यसैगरी बाढी पहिराकै कारण आजसम्म काठमाडौँ उपत्यकामा नौ जना, कोशी प्रदेशमा ३४ जना, मधेस प्रदेशमा नौ जना, बागमती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा नौँ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १४४ जना घाइते भएका छन् ।

बाढी पहिरामा परी कोशी प्रदेशमा दुई जना, मधेस प्रदेशमा एक जना, बागमती प्रदेशमा दुई जना, गण्डकी प्रदेशमा एक जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी नौ जना बेपत्ता भएका प्रवक्ता कार्कीले बताए । बेपत्ताको खोजी जारी रहेको प्रहरीको भनाइ छ ।

प्रवक्ता कार्कीले भने, ‘बाढीका कारण जम्मा १८२ घर डुबानमा परेका छन् । २२९ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।’ बाढीपहिराकै कारण आजसम्म ५८९ वटा पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार ९९८ घरपरिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमबार