गोरखाको सहिद लखन गाउँपालिका–४ ताक्लुङका सुदिप खनालले ४० भारी मकै हुने बारीबाट एउटै घोगो पनि भित्र्याउन पाएनन् । एक छेउमा श्रीमान् र अर्को छेउमा श्रीमती ‘फूल टाइम ड्युटी’ गर्दा पनि बाँदरले सखाप बनायो । गएको हिउँदमा न आलु भित्र्याए न मुसुरो । ‘दुई क्विन्टल आलु हुन्थ्यो । एक मुरी मुसुरो हुने ठाउँमा एक पाथी पनि थन्क्याउन पाइनँ,’ उनले भने ‘मुसुरो हेरे आलु सखाप हुन्छ, आलु हेरे मुसुरो सकिन्छ । बाँदरले थलै पारिसक्यो ।’
उनका केही छिमेकीले खेती नै गर्न छोडिसके । सुदीपले चाहिँ जसोतसो गरिरहेका छन् । तर बाँदर धपाउने उपाय नभए अब खेती नगर्ने सोचमा पुगेका छन्, उनी पनि । ‘हातले हानेर त मान्दै मानेन । अलि अस्ति नै बन्दुक ल्याएर पनि पड्काइयो । त्यो पड्किने मात्रै रहेछ भनेर बाँदरले थाहा पायो होला, टेर्न छोड्यो,’ उनले भने, ‘यही अवस्था हो भने घरछेउकै बारी पनि बाझिन्छ । महिलालाई त उल्टै झम्टिन्छ । बाँदरले साह्रै सतायो ।’
त्यहाँ ६७५ घरधुरी किसान छन् । बाँदरले मकै, काँक्रो, बोडी, आलु, मुसुरो लगायत उब्जनी सखाप बनाएको छ । करिब १ हजार रोपनी खेतीयोग्य जमिन भएपनि बाँदरका कारण किसानले खेती गर्नै छोडिसकेका छन् । अर्का किसान खेमबहादुर थापा बाँदरको आक्रमणले जीउज्यानकै खतरा रहेको बताउँछन् । ‘वारि भित्ता र पारि भित्ता गरेर बस्छ । खेती जोगाउने त परको कुरा मान्छेको ज्यानै जोगाउन मुस्किल पर्छ,’ उनले भने, ‘सयभन्दा बढीको बथान छ । लङ्गुर पनि आउँछ । खेतबारीमा मात्रै होइन, घरमै पसेर झिकेर लान्छ ।’
गाउँबाट केही टाढाका खेतबारी चाहिँ बाझिन थालेको उनले बताए । थापाले बाँदर नियन्त्रणका लागि सरकारसँग गुहारेका छन् । ‘गाउँमा मान्छे बस्ने हो कि बाँदर ? बाँदर बस्ने गाउँमा मान्छे चाहिँ के खाएर बस्ने ?,’ उनले भने, ‘कि बाँदर बसोस्, हामी छोडेर जान्छौँ । होइन भने नियन्त्रण त गर्दिन पर्यो नि ।’ वडाध्यक्ष यमबहादुर थापा वैकल्पिक खेती गर्न किसानलाई सुझाउँछन् । घाँसखेतीमार्फत पशुपालन गरे बाँदरको आतङ्क कम हुने र क्षति व्यहोर्न नपर्ने उनको भनाइ छ ।
तर किसानहरू परम्परागत खेती छोड्न मान्दैनन् । त्यसैले वडाले बाँदर लखेट्न आधुनिक गुलेली निर्माण थालेको छ । ‘अहिले बनाइएको गुलेली अत्यधिक उपयोगी छ । साधारण गुलेली भन्दा तीन गुणा टाढासम्म ढुङ्गा फाल्न सक्छ,’ उनले भने, ‘सामान्य गुलेलीसँग बाँदर तर्सिएन । यो देख्दा तर्सिएको छ ।’ एउटै गुलेली बनाउन १८ सयदेखि २ हजार रुपैयाँसम्म लागत लागेको थापाले जानकारी दिए ।
‘वडाका किसानलाई ७० प्रतिशत अनुदानमा वितरण गर्दैछौं । बाहिरी वडामा पठाउँदा लागतको पूरै रकम लाग्छ,’ अघि भने, ‘बाँदरले नखाने खेती गरौँभन्दा किसान मान्दैनन् । कमसेकम लगाएको खेती थन्क्याउन त दिनुपर्यो नि ।’ यहाँका सबै किसानहरू परम्परागत खेतीमै रमिरहेका छन् । किसानको चाहना अनुसार नै आधुनिक गुलेली बनाएर वितरण गर्न लागिएको थापाले जानकारी दिए ।
‘५० थान गुलेली निर्माण भैसकेको छ । अन्यत्र गरिएको प्रयोगलाई हामीले लागू गर्न लागेका छौं,’ उनी भन्छन्, ‘किसानहरूको खेती पनि लोभलाग्दो छ । वैदेशिक रोजगारीबाट फर्किएर पनि खेती गरिरहेका छन् । कमसेकम बाँदरबाट जोगाउन सकियो भने आयात प्रतिस्थापनमा सहयोग पुग्छ ।’ गण्डकी प्रदेश सरकारले पनि कृषि हेरालो खटाउने तयारी गरेको छ । चालू वर्षको नीति तथा कार्यक्रम र बजेटमै बाँदर आतंक नियन्त्रणका लागि कृषि हेरालो राख्ने कार्यक्रम ल्याएको हो ।
यद्यपि कार्यक्रम कार्यान्वयनमा गइसकेको छैन । गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले बाँदरको समस्या देशैभरि भएकोले नियन्त्रणको उपाय निकाल्न नसकिएको बताए । ‘समस्या हाम्रो मात्रै होइन देशैभरि छ । कसरी धपाउने ?,’ उनले भने, ‘उत्तम उपाय खेती प्रणालीमा परिवर्तन गर्ने हो । पालिकाले सक्दो प्रयास गर्छ ।’ उनले बाँदरले गर्ने क्षतिमा पनि राहत दिने व्यवस्था गर्नुपर्ने बताए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । गोरखा