२०८२ चैत १ , आइतबार 15, March 2026, Sunday

मनसुनजन्य विपद्बाट देशभर १२५ जनाको मृत्यु

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ साउन ४ गते शुक्रबार

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायत विपद्मा परी आज दिउँसोसम्म १२५ जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाडौँमा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा पाँच, बागमती प्रदेशमा २०, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा आठ गरी जम्मा १२५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार विपद्मै परी काठमाडौँमा आठ, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा नौँ, कर्णाली प्रदेशमा ३३ र सुदूरपश्चिम प्रदेशमा १४ गरी जम्मा १४३ जना घाइते भएका छन् ।

यस्तै कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, मधेस प्रदेशमा एक, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी आठ जना बेपत्ता भएको प्रवक्ता कार्कीले बताए ।

उनले भने, ‘बाढीपहिरो लगायत विपद्मा परी बेपत्ता भएकाको खोजी भइरहेको छ ।’ सिमलताल दुर्घटनामा बेपत्ता भएकाको तथ्यांक यहाँ समावेश नगरिएको प्रहरीले जनाएको छ । बाढीको कारण जम्मा १८२ घर डुबानमा परेका छन् । २२२ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्मा ५८५ वटा पशुचौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार ७२१ परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रबार