सूचनाको शक्ति - The Power Of Information

        

वाग्मती र लुम्बिनीमा भारी वर्षा, दिउँसो अन्यत्र फैलँदै

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको विभागले बताएको छ । जसका कारण देशका विभिन्न भू–भागमा वर्षा भइरहेको छ । देशभर साधारणतया बदली रहँदा केही स्थानमा बिहान वर्षा भइरहेको हो ।

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

महाशाखाका अनुसार सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ ।

महाशाखाले वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार ०७:४२

लोकप्रिय