कमैया मुक्ति घोषणा भएको आज २४ वर्ष पुगेको छ । २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको हो । अढाइ दशक बित्नै लागे पनि कैलालीको टीकापुर नगरपालिका शिवनगरका गणेश चौधरी पुनःस्थापनाको पर्खाइमा छन् ।
राज्यले ऋण मिनाहासहित पुनःस्थापना गर्नेगरी कमैया मुक्तिको घोषणा गरे पनि आफूजस्तै सयौँ परिवार आज पनि पुनःस्थापनाको पर्खाइमा रहेको उनले बताए । ‘राज्यले पुनःस्थापनाको काम अझै गर्न सकेको छैन । आजसम्म कमैयाले आफ्नो क्षमताले एउटा बस्ने घरसम्म बनाउन सकेका छैनन । अरुकै सहारामा बाँच्नुपरेको छ,’ चौधरी भन्छन् ।
उनले पटकपटक आश्वासन पाएको तर सहारा कहिल्यै नपाएको बताए । शिवनगरकै रामफल चौधरीलाई बुढ्यौलीले छोइसकेको छ । सरकारले पुनःस्थापनाको ग्यारेन्टी गरेसँगै अरुको घरमा कमैया बसेर जीवन निर्वाह गर्दै आएका रामफलले २० वर्ष पुनःस्थापनाको आशामा शिविरमा बिताएको बताए ।
‘पुनःस्थापनाको सम्झौता मात्रै भयो, हामी दशकौँदेखि कष्टकर जीवन बिताउन बाध्य छौँ,’ उनले भने । शान्ताराम चौधरीको समस्या पनि उस्तै छ । आज पनि उनलाई अरुको घरमा काम गरेर जीवन निर्वाह गर्नुपर्ने बाध्यता छ । ‘हिजो अरुको घरमा काम गर्दा आफ्नो स्वतन्त्रता थिएन, आज स्वतन्त्रता छ, फरक त्यतिमात्र हो ।’
दुई दशक पहिला टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको जग्गा अतिक्रमण गरेर सयौँ मुक्तकमैया आश्रय लिएर आजसम्म बसोबास गर्दै आएका छन् । सो क्षेत्रमा मुक्तकमैया मात्र नभई सयौँ सुकुम्बासी पनि बसोबास गर्दै आएका छन् ।
‘राज्यले उचित व्यवस्थापन गरेको भए अरुको जग्गामा बस्नुपर्ने बाध्यता हँुदैनथ्यो,’ स्थानीय छेदु चौधरीले भने, ‘जग्गा जमिन नभएका हामी यो जग्गा छाडेर कता जानसक्छौँ ।’ मुक्त कमैया समाज सुदूरपश्चिम प्रदेशका सचिव विमल चौधरीले कैलालीमा अझै चार हजार २०० छुट मुक्तकमैयाको पुनःस्थापना गर्ने बाँकी रहेको बताए ।
प्रदेशमा झण्डै १२ हजार मुक्तकमैया परिवार छन् । टीकापुरमा मात्रै करिब ६०० परिवार पुनःस्थापनाको पर्खाइमा छन् । मुक्तकमैया व्यवस्थापन गर्न तीनै तहको सरकारसँग समन्वय र सहकार्य गर्दै आएका सचिव चौधरीले बताए । ‘राज्यले घोषणा गरेअनुसार सबै मुक्तकमैयाको व्यवस्थापन यथाशीघ्र हुनुुपर्छ,’ उनले भने ।
कैलालीका ११ स्थानीय तहमा र कञ्चनपुरमा ६ स्थानीय तहमा मुक्तकमैया परिवारको बसोबास छ । कमैया मुक्तिको घोषणा भएको दिन स्थानीय तहले सार्वजनिक बिदा दिने गरेका छन् । मुक्तकमैया दिवसको अवसर पारेर टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिका लगायत स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कैलाली