आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी । आइतबार सनातन धर्मावलम्बी आँगनमा तुलसीरोपण गर्दैछन् । बुधबार ३१।४५ घडीपला एकादशी तिथि रहेको पञ्चाङ्गमा उल्लेख छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ ।
आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी भगवान् विष्णु र विष्णुप्रियाको नामले चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ । कार्तिक शुक्ल (हरिबोधनी) एकादशीमा तुलसी विवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ । आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको उपयोग गरिन्छ । धेरै अक्सिजन फ्याँक्ने वनस्पतिका रूपमा तुलसीको महत्त्व छ ।
आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने मान्यताअनुरूप चार महिनासम्म विशेष माङ्गलिक कार्य गरिँदैन । यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत–उपवास र पूजापाठलाई महत्त्व दिइन्छ । वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधनी एकादशीलाई विशेष महत्त्व दिइन्छ ।
वैष्णव धर्म लिएकाहरूले एकादशीलाई विशेष महत्त्व दिए पनि स्मृति मान्नेहरूले यसलाई सामान्य किसिमले मनाउँछन् । वैदिक सनातन हिन्दु पात्रो ‘पञ्चाङ’ अनुरुप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई १५ वटा समान समय भागमा बिभाजन गरिएको छ र चन्द्रको प्रत्यक चलायमान समय भागलाई तिथी भनिन्छ ।
चन्द्रको अवस्थिती अनुसार तय गरिएको तिथीको एघारौं दिनलाई एकादशी भनिन्छ । वैदिक सनातन हिन्दु धर्ममा एकादशीलाई भगवान बिष्णुको उपाशनागर्ने दिनका रुपमा लिइन्छ । भविष्योत्तर पुराणमा एकादशीहरुको महिमा प्रष्टसँग वर्णन गरिएको छ । ब्रत बस्ने, भजन गर्ने, एकादशी महात्मय कथा श्रवण गर्ने र जप, होम आदि गर्ने चलन छ ।
अषाढ शुक्लपक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रुपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । श्रृष्टिकर्ता भगवान हरि अर्थात विष्णु यस एकादशीबाट चार महिनाका लागी क्षीर सागरमा सुत्न जाने हुँदा यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र असारे एकादशी पनि भनिन्छ ।
यस एकादशीमा सुतेका हरि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाईन्छ । हरिशयनी एकादशीलाई तुलसीरोपण दिवस पनि भनिन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोपेर पुजा गरिन्छ । आजको दिन भगवान् विष्णुको प्रतिकको रुपमा घरघरमा तुलसी रोप्ने गरिन्छ ।
घर वरपरको हावा स्वच्छ बनाउने तुलसी बिना भगवान विष्णुको कुनै पनि पुजा आराधनाले पूर्णता पाउँदैन । तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औसधिको काम गर्दछन् । रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरुको उपचारमा तुलसी घरेलु औसधि भएर उपयोगमा ल्याउने गरिन्छ ।
वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ ।
तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रुपमा पुष्टि भएको छ । मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न पनि तुलसी लगायत जडिबुटीले काम गर्ने जनाइएको छ । गत वर्षदेखि सिंहदरबार वैद्यखाना विकास समितिले बनाएको तुलसी चियाको माग बजार बढेको छ । यी तथ्यले तुलसीको महत्व स्पष्ट पार्छ ।
तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरु नरहने मान्यता छ । हिन्दुहरुको लागि तुलसीको निक्कै महत्व रहने गरेको छ । त्यसैले पनि होला प्राय हिन्दुहरुले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन् । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । आजको एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वास रहिआएको छ ।
वैदिक विधि अनुसार चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ । ‘भविष्योक्तरा’ पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यस एकादशीको महिमा भगवान ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान कृष्णलाई पनि भनेको उल्लेख छ ।
चलिआएको प्राचिन किम्वदन्तिका अनुसार, एकादेशमा एउटा सम्पन्न राज्यमा एक धार्मिक राजा मन्दाताले शासन गर्थे । तर लगातारको तीन बर्षको खडेरीले गर्दा राज्यमा समस्या उत्पन्न भएको थियो । नदि–नाला सुक्न थालेका थिए र रुख विरुवाहरुले हरियाली गुमाइसकेका थिए । राजाको अपराधका कारणले गर्दा राज्यले र नागरिकले समस्या भोग्दछन् भन्ने मान्यता थियो ।
सोही मान्यता अनुरुप राजा मनदाताले आफ्नो कुनै गल्तीका कारणले बर्षाका देवता भगवान् नारायण आफूसँग रिसाएको ठानेर जति गर्दा पनि उनि आफूबाट भएको भूल पत्ता लगाउन सकिरहेका थिएनन् । एकदिन राजाले अंगीरा नामका ज्ञानीलाई भेटेर समस्याको सामाधानका रुपमा हरिशयनी एकादशीको महिमाका बारेमा थाहा पाँउछन् ।
यस एकादशीको दिन पूजा अर्चना र व्रत बसेपश्चात् राज्यमा वर्षा भएको जनविश्वास रही आएको छ । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडो लगायत फलाहार गर्ने गरिन्छ ।
चतुर्मास व्रत आरम्भ
हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीसम्मको चार महिना भगवान विष्णुले सयन गरेको अवस्थालाई चतुर्मास भनिन्छ । यसबेला भगवान विष्णुले आफु शयन गर्ने हुँदा भगवान शिवलाई आफ्नो कार्यवाहक सुम्पेका हुन्छन्, तसर्थ धार्मिक मान्यता अनुसार आजको दिनदेखि श्रद्धालुहरुले विशेषगरि भगवान शिवको पुजाआजा गरी व्रत बस्ने गर्दछन् ।
भगवान विष्णु शयन गर्ने यो चार महिनाभित्र श्रावणको व्रत, गणेश चतुर्थी, हरितालिका तिज, ऋषिपञ्चमी, नागपञ्चमी, नवरात्री, कोजाग्रत पूर्णिमा, गोवर्धन पुजा आदि जस्ता थुप्रै दिनहरुमा बसिने व्रतहरु चतुर्मास व्रतहरु हुन् । यो चार महिनाको समयमा आफ्नो शारीरिक र मानसिक अवस्थाले साथ दिएसम्म व्रत बस्नु शुभ फलदायी हुने मान्यता परापूर्वकालदेखि रहिआएको छ । असार शुक्ल एकादशीका दिन अर्थात् आज घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर आजको एकादशीसहित चतुर्मास व्रत थालनी गरिँदैछ ।
असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मको समयलाई चतुर्मास भनिन्छ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन तुलसीको दामोदरसँग विवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ । बिष्णु भगवान क्षीर सागरमा सुतेको बेला अर्थात् चर्तुमाशभरि कुनै पनि मङ्गल कार्यहरुजस्तै बिवाह, व्रतबन्ध आदिको लगन हुँदैन । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पश्चात् मात्र मङ्गल लगन तथा मुहुर्तहरु हुन्छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं