२०८३ मंसिर १२ , शनिबार 28, November 2026, Saturday

सिमलताल पहिरोमा कसरी परेका थिए दुई वटा बस ?

काठमाडौंको नयाँ बसपार्कबाट गौरको लागि छुटेको वाग्मती प्रदेशको ०३–०११ ख २४९५ गणपतीको बस काठमाडौं छोड्दा ८ बजेर ३० मिनेट गएको थियो । उपत्यका ट्राफिक प्रहरी कार्यालय नागढुंङ्गाले राखेको रेकर्डअनुसार गौर जाँदै गरेको बस ८ बजेर ३० मिनेटमा नागढुङ्गा क्रस गरेको देखिएको छ ।

उक्त बसले ११७ किलोमिटरको दुरीपार गरेर सिमलताल पुग्दा बिहानको साढे तीन बजेको थियो । उक्त बसले ११७ किलोमिटरको दुरी पार गर्न आठ घण्टा लगायो । सामान्य अवस्थामा काठमाडौंबाट नारायणघाट पुग्न पाँच घण्टामात्रै लाग्छ । तर, निर्माणाधीन नारायणगढ–मुग्लिन सडकखण्ड र वर्षातको कारण पछिल्लो समय नारायणगढ–मुग्लिन सडक खण्डपार गर्न हरेक बसहरुलाई निर्धारित समयभन्दा बढी लाग्ने गरेको छ ।

पहिरोमा परेको काठमाडौंबाट गौरका लागि हिँडेको बसको अवस्थामा पनि त्यही भयो । रातभर पानी परेका कारण पहिरो पन्छाउँदै काठमाडौंबाट पश्चिमका लागि छुटेका रात्रीकालीन बसहरु र चितवन हुँदै काठमाडौं आउने बसहरु ३ बजेतिरमात्रै सिमलताल पुगेका थिए । सिमलतालमा पनि हिलोसहितको पहिरो शुक्रबार रातिदेखि नै आएको थियो । जसकारण सिमलतालमा समेत बाटो अवरुद्ध भयो ।

चितवन प्रहरीका अपरेसन कमाण्डर डीएसपी श्रीराम भण्डारीका अनुसार अवरुद्ध बाटो राति १ बजेमात्रै खुल्यो । त्यो ठाउँमा सामान्य पानी पर्दासमेत गेग्रानसहितको हिलो सधैँ आउने गर्छ । त्यसैको सुरक्षाका लागि ग्रेग्रान बग्ने ठाउँमा फलामको जालीसहितको पर्खाल हालेर रोकिएको छ । १ बजे डोजरले सफा गरेपछि सुरुमा बाटो एकतर्फी र पछि दुईतर्फी नै चल्दै आएको थियो ।

तर, विस्तार विस्तारै बग्दै गरेको ग्रेग्रानले सडक साँघुरो बनाउँदै गयो छ । तीन बजेसम्म पुग्दा बाटो फेरि एकतर्फीमात्रै चल्ने अवस्थामा पुग्यो । तर, हराइरहेका दुवै बसका चालकहरुले त्यही बाटोमा एक अर्कोलाई पालो नदिइ आ–आफैैँले पास गर्न खोजे । तर, पास हुन नसकि दुवै बस अड्किए । वीरगन्जबाट आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल बसको अगाडि पृथ्वी राजमार्ग चल्ने सिन्धुली–पोखराको ग २ ख १८२२ नम्बरको अर्को बस थियो ।

एन्जल बसका चालकले उनलाई ओभरटेक गरेर अगाडि हुँइकिएको केहीबेरमात्रै भएको थियो । त्यहीबेला काठमाडौंबाट गौर जाँदै गरेको बससमेत त्यहाँ पुगेर अड्किदा दुवै बस पहिरोमा परेको प्रहरीले जनाएको छ । सिन्धुली–पोखरा बसका चालक जीवन सुनारका अनुसार त्यो बाटोमा दुवै बस एक्लाएक्लै गुडेको भए सजिलै पार हुन पनि सक्थे ।

उनी भन्छन, ‘म एन्जल बसको पछाडि थिएँ । मेरो गाडीलाई एन्जल बसका चालकले ओभरटेक गरेर अघि पुगेको थियो । म पछि परेँ । तर, पहिरो आएको ठाउँमा काठमाडौंबाट आएको गाडी र एन्जल बस दोहोरो भेट भयो । दुवै पास हुन सकेनन् । त्यहीबेला जालीमा भरिएको पानी र लेदो फुटेर दुवै बस बगाएको हो ।’ काठमाडौंबाट हिँडेको बसले गाडी पास गर्न सिधा पार्न खोज्दाखोजै एक्कासी बगेको जीवनको भनाइ छ ।

कसरी हुँदैछ हराएको बसको खोजी ?

हराएका बसको खोजीको लागि मूख्य रुपमा सशस्त्र प्रहरी बलको टोली खटिएको छ । सशस्त्र प्रहरी बलले ११ जना गोताखोरको टोली बस पहिरोमा परेको सिमलताल क्षेत्रको त्रिशूली नदीमा खटिएका छन् । त्यसबाहेक सेनाको टोली र प्रहरीको टोलीले समेत छुट्टाछुट्टै खोजी कार्य गरिरहेका छन् ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विपद् व्यवस्थापन केन्द्र कुरिनटारको गोताखोरको टोलीले एक मोटरबोटमा पानीभित्रको आकृति देखिने अत्याधुनिक क्यामेरा सोनार डिभाइस जडान गरेर खोजी कार्य थालेको छ । त्यस्तै सातवटा र्‍याफ्टबोट प्रयोग गरेको छ । त्यसबाहेक १७ नम्बर गणलेसमेत सोनार क्यामेरासहित एक मोटरबोट र चार र्‍याफ्टबोट प्रयोग गरेको छ ।

सशस्त्र प्रहरी बलले कुल तीनवटा सोनार क्यामेरासहितको मोटरबोट र ११ र्‍याफ्टबोट प्रयोग गरेको छ । सशस्त्र प्रयोग गरेको सोनार क्यामेरा हालसम्म नेपालमा प्रयोग गरिएको उच्च प्रविधि हो । यसले साउन्ड वेभ पानीमुनि पठाएर पानीभित्रको आकृतिलाई स्क्यान गरेर हेर्न सकिन्छ । त्यसबाहेक गोताखोरको टोलीले पानीभित्र ‘पन्डुब’ हानेर हराएको बसको खोजी गरिरहेका छन् । तर, पन्डुब गर्दा धमिलो पानी र नदीको उच्च बहाबका कारण कठिनाइ भइरहेको खोजी उद्धारमा खटिएका एक गोताखोरको भनाइ छ ।

सोनार क्यामेरा बाहेक सशस्त्र प्रहरीले अन्डर वाटर ड्रोन क्यामेरा पनि प्रयोग गरेको छ । नेपाली सेनाको चितवन विपद् व्यवस्थापन गणबाट समेत १०० जना नेपाली सेनाको टोली खटिएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए । जसमध्ये ८ जना गोताखोरसमेत छन् । सेनाको टोलीले र्‍याफ्टबोटमार्फत त्रिशूली नदीको विभिन्न ठाउँमा खोजी कार्य जारी राखेको छ ।

प्रकाशित मिति : २०८१ साउन १ गते मंगलबार