२०८३ जेठ १० , आइतबार 24, May 2026, Sunday

तस्करलाई सघाउने डिआइजीलाई उन्मुक्ति, एसपी फन्दामा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ साउन १ गते मंगलबार

तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु भए पनि बराह बाहिनीका डिआइजी भने पानीमाथिको ओभानो बनेका छन् । मोरङमा २०८० फागुन पहिलो साता सशस्त्र प्रहरीको प्रमुख भएर गएका एसपी खड्कामाथि तस्करीको लाइन चलाएको आरोपमा कारबाही गर्दा डिआइजीकै निर्देशनमा लाइन खुलाएको भए पनि उनलाई जोगाएर एसपीमाथि मात्रै कारबाहीको डण्डा बर्षाउन लागिएको हो ।

बराह बाहिनीका डिआइजी शम्भू सुवेदीकै निर्देशनमा लाइन खुलाइएको भन्दै एसपी खड्काले आफूनिकट सहकर्मीलाई बताउने गरेका छन् । मोरङमा तीन दर्जन सीमा नाका छन् । जसमध्ये विराटनगरसहित पूर्वी क्षेत्रको नाकाबाट तस्करीको लाइन चलाएर अवैध असुली गरेको उनीमाथि आरोप छ । विराटनगरका व्यापारी विनोद केशरीले एक महिनाअघि भारतबाट भन्सार छली गरेर ल्याएको चिनी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तर, नियन्त्रणमा लिइएको उक्त चिनी भन्सारमा बुझाउनुको साटो एसपी खड्काले यतिकै छाडेको आरोप लगाइएको छ । उनले पैसा लिएर चिनीसहितको गाडी छोडेको आरोपमा सशस्त्र प्रहरीका आइजीपी राजु अर्यालको सचिवालयमा बेनामे उजुरी परेको थियो । आइजीपी अर्यालकै निर्देशनमा खड्कालाई काठमाडौँ तानेर आवश्यक छानबिन एवं अनुसन्धानको प्रक्रिया अघि बढाइएको थियो ।

अहिले खड्कामाथि लागेको आरोपको छानबिन एवं अनुसन्धान गर्न डिआइजी लक्ष्मणबहादुर सिंहको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन भएको छ । समितिमा एसपी माधव रेग्मी र डीएसपी भुवन भण्डारी सदस्य छन् । गठित समितिका सदस्य एसपी रेग्मी मोरङ पुगेर घटनाको अनुसन्धान सुरु गरेका छन् । समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्रतिवेदनका आधारमा एसपी खड्कामाथि कारबाही हुने कि नहुने भन्ने टुङ्गो लाग्नेछ ।

सशस्त्रको मिलेमतोमा गाईगोरु, मटर, चिनियाँ स्याउ, सुपारी लगायत नेपालबाट भारततर्फ तस्करी हुने गरेको आरोप छ । भारतबाट धान, गहुँ लगायतका खाद्यान्नका परिकार, किराना सामान, लत्ताकपडा, गाडीका पार्टपुर्जा, हार्डवेयरका सामान लगायत भन्सार छली गरेर नेपाल भित्रिने गरेको छ । सशस्त्र प्रहरीले एसपीहरूलाई पठाउँदा नै राजश्व चुहावट र सीमा क्षेत्रको तस्करी नियन्त्रण गर्ने प्रमुख दायित्व दिएर पठाउँछ ।

आइजी अर्यालले गल्ती भेटिएमा कसैलाई पनि नछाड्ने बताइरहँदा अहिलेसम्म समयअवधि नपुगी किसान कर्माचार्य, विश्व खड्का लगायतका एसपीहरू कारवाही स्वरुप तानिएका छन् । प्रहरीले कुनै पनि सामान समाएपछि छोड्नका लागि अदालतमा वा सम्बन्धित निकायमा बुझाउनु पर्छ । तर, खड्काले चिनीसहितको गाडी सशस्त्रको क्याम्पभित्रै लगेर गएका थिए । मोरङमा भारतसँग सीमा जोडिएको ५२ किलोमिटरमा तीन दर्जन बढी सीमा नाका छन् ।

तस्करीको लाइन सबैभन्दा बढी विराटनगरको दक्षिण क्षेत्र मटिअर्वा, दक्षिण गेट, दरैया नाका पर्दछ । यस्तै पूर्वमा रंगेली नगरपालिकाको धनापट्टी, रतुवामाई नगरपालिको सिक्टी, आमतोला, धनपालथान गाउँपालिका दक्षिण क्षेत्रको मायागञ्ज र खैरबना नाकादेखि खाद्यवस्तु तस्करी हुने गरेको पाइएको हो । बिहान २ देखि ३ बजे र रातिको ११ देखि १२ बजेको समयमा तस्करीमा लागेका भरियालाई निश्चित रकम दिएर एउटा मोटरसाइकल र अटोमा सामान ओसार्ने गरिएको छ ।

यस्ता भरियाले मोरङको उत्तरी क्षेत्र उर्लाबारी, मधुमल्ला, पथरीदेखि झापाका दमकसम्मका होलसेल पसलमा कपडा र खाद्यवस्तु पुर्याइदिने गरेका छन् । यसैगरी, पर्सा र रौतहटका विभिन्न नाकाबाट चोरी निकासीलाई सहयोग पुग्ने गरी सशस्त्र प्रहरी कर्मचारीलाई त्यहाँका एसपीले खटाएको स्रोतले जनाएको छ । पर्सा र रौतहटका सीमा नाकाबाट हुने तस्करीले आसपासका जिल्लामा समेत बाछिटा परेकोले राजश्व कम उठ्ने गरेको स्रोतको दाबी छ ।

पर्साको अलौ नाकाबाट कतिसम्म तस्करी हुन्छ भन्ने कुरा केही दिनअघिको घटनाले पुष्टि गर्छ । अलौ नाकामा डिएसपी विकाश अधिकारीले चलाएको तस्करी धन्दामा अर्का डिएसपी सुरज रिजालले धावा बोलेका थिए । रिजाल बिओपी वीरगञ्जमा छन् । डिएसपी रिजालले आफ्नो एरियाभन्दा बाहिर अलौ बिओपीको एरियाबाट केही दिनअघि ४० लाख बढीको सामान समातेका थिए ।

संधै सेटिङमा तस्करी गराएका डिएसपी अधिकारी केही दिन बिदा बसेको बेला उनको एरियामा भएको अबैध गोदाममा बिओपी वीरगञ्जको टोलीले छापा हानेको थियो । ती सामान डिएसपी विकाश अधिकारीको मिलेमतोमा गोदाममा राखिएको श्रोतले जनाएको छ । दैनिक रुपमा अलौ नाकाबाट तस्करीका ट्रक पास हुने गरेको स्थानीय बताउँछन् । त्यस घटनापछि डिएसपी अधिकारीलाई छिन्नमस्त बाहिनी तानिएको थियो ।

तर, उनी तनहुँ घर भएको र राष्ट्रपतिको मान्छे भन्दै उम्किन सफल भएका थिए । अहिले पनि उनको तस्करी धन्दा रोकिएको छैन । यता, रौतहटका सीमा नाका गौरलगायतबाट हुने तस्करीले पनि सीमा नाघेको छ । एसपी विक्रम हुमागाइंले गत वर्ष पक्राउ गरिएको सामानको विवरणसमेत दिएर प्रचारबाजी गर्दै सबैलाई गुमराहमा राखेर तस्करी धन्दा चालाएको श्रोतको दाबी छ । उनका अनुसार अहिले रौतहटबाट गोरु चोरी निकासीमा समेत डिएसपी हुँमागाइले चासो राख्ने गरेका छन् ।

प्रकाशित मिति : २०८१ साउन १ गते मंगलबार