सूचनाको शक्ति - The Power Of Information

        

बैङ्कर बन्ने सपना देखेँका अभिषेक स्टाफ नर्स बनेपछि…

झट्ट सुन्दा पुरुष स्टाफ नर्स छन् भन्दा अझै पनि धेरैले अचम्म मान्छन् । नर्स भन्ने बित्तिकै सबैजसोले महिला स्वास्थ्यकर्मी नै भन्ने बुझ्छन् । नेपालगन्जको भेरी अस्पतालमा २० वर्षीय अभिषेक तिवारी स्टाफ नर्सका रूपमा कार्यरत छन् । उनी भर्खरै एक महिनाअघिदेखि अस्पतालमा स्टाफ नर्सका रूपमा बिरामीहरूलाई सेवा दिन लागेका हुन् ।

२०७४ सालमा नेपालगन्जमा रहेको ब्राइट्ल्याण्ड हाई स्कुलबाट एसइई पास गरेका नेपालगन्ज उपमहानगरपालिका वडा ८, रानीतलाउ निवासी अभिषेकले बैङ्कर बन्ने सपना बोकेका थिए, तर पछि नर्सिङ पढेर स्टाफ नर्स भए । ‘मैले एसइई पास गरेपछि भविष्यमा बैङ्कर बन्ने सपना बोकेको थिएँ, बैङ्किङ क्षेत्रमा काम गर्ने इच्छा अनुसार २०७५ सालमा मङ्गलप्रसाद माविमा कक्षा ११ मा म्यानेजमेन्ट विषय लिएर भर्ना भएँ,’ अभिषेकले भने ।

उनले त्यसको केही समयपछि मोबाइल हेर्दै गर्दा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नर्सिङ क्याम्पस नेपालगन्जमा पुरुषलाई पनि स्टाफ नर्स पढाइका लागि भर्ना खुलेको सूचना देखेँपछि एक्कासी मन बदलिएर सोच परिवर्तन भएको उनी बताउँछन् । उनले भने, ‘स्टाफ नर्स पढ्नका लागि आवेदन दिएँ, नाम निस्कियो ।’

तीन वर्षीय पिसिएल नर्सिङ पढाइका लागि ४५ जनाको कोटा थियो, जसमा १५ प्रतिशत पुरुषका लागि छुट्टाइएको थियो । ‘आवेदन दिने पुरुष म मात्र भएँ, नाम निस्किएपछि बैङ्कर बन्ने सपना छाडेर नर्सिङ पढ्न थालेँ,’ अभिषेकले भने, ‘२०७५–०७८ को ब्याचमा ४४ जना महिला र म एक्लो पुरुष गरी ४५ जनाले पिसिएलको नर्सिङ कोर्स गर्यौं ।’

स्टाफ नर्सको पढाइ सकिएपछि नेपालगन्जकै दुई वटा निजी अस्पतालले भ्याकेन्सी खोलेको देखेर आवेदन दिएको, नाम पनि निस्किएको तर सेवा सुविधा अत्यन्तै कम भनेपछि उक्त संस्थामा काम नगरेको अभिषेकले बताए । केही समयअघि भेरी अस्पतालले निकालेको सूचनामा आफू सेलेक्ट भएर एक महिना अघिदेखि अस्पतालमा सेवा दिन लागेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘बिरामीले मलाई बोलाउँदा डाक्टर सा’प भन्नुहुन्छ, मैले म डाक्टर होइन, स्टाफ नर्स हुँ भन्छु, त्यसोभन्दा कोही कोही बिरामीहरू दङ्ग पर्नुहुन्छ, अचम्म मान्नुहुन्छ र खुसी हुनुहुन्छ । अहिले मैले पुरुष बिरामीहरूलाई सेवा दिने गरेको छु, महिला बिरामीहरूलाई महिला नर्सले सेवा दिने गर्नुभएको छ, महिला नर्स साथीहरूको व्यवहार निकै राम्रो छ ।’

आफ्नो डिउटीमा बिरामीको जाँच गर्ने, कपडा फेरिदिने, औषधि खुवाउने, रगत झिक्ने, रेकर्ड राख्ने, ईसिजी गर्ने तथा शौच गरे नगरेको हेर्ने, डाक्टरलाई बिरामीको अवस्थाका बारेमा जानकारी गराउने लगायतका कामहरू गर्दै आएको उनी बताउँछन् । अझै पनि समाजमा नर्स भन्ने बित्तिकै महिला नै बुझ्छन् । सुरुसुरुमा उनलाई कसैकसैले मजाकले हेरे, केटा नर्स भनेर जिस्काए पनि तर अब बुझिसकेपछि भने सामान्य लिने गरेका छन् ।

अभिषेकले भने, ‘समाजमा पुरुषले महिलाले गर्ने काम र महिलाले पुरुषले गर्ने काम गर्न सक्छन् भन्ने पनि हो, महिला पुरुष बराबरी भन्ने सन्देश र समानता पनि हो र पुरुष पनि नर्स बन्न सक्छन् भन्ने सामाजिक सचेतना र अरूलाई मबाट प्रेरणा मिलोस् अनि पुरुष पनि नर्स पढ्न आउन भन्ने पनि हो ।’

भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले भेरी अस्पतालमा पहिलो पटक एक जना पुरुष स्टाफ नर्स कार्यरत रहेको जानकारी दिए । ‘भेरीमा पहिलो पटक एक जना पुरुष स्टाफ नर्स कार्यरत छन्, पुरुष बिरामीहरूको सेवाका लागि अत्यन्तै सहज भएको छ ।’ यो क्षेत्रमा जबको पनि सुरक्षा हुने र पुरुषका लागि नर्सिङ पढाई पनि भएपछि पछिल्लो समयमा नर्सिङ क्षेत्रमा पुरुषको पनि आकर्षण बढ्दै गएको छ ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार १०:४५

लोकप्रिय