२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

बाढीपहिरोबाट देशभर १०८ जनाको मृत्यु

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८१ असार ३२ गते सोमबार

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण हालसम्म १०८ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो लगायत विपद्मा परी आइतबार दिउँसोसम्म १०८ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा पाँच जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा आठ जना रहेका छन् । यस्तै उक्त घटनामा परेर ११९ जना घाइते भएका छन् ।

घाइते हुनेमा काठमाडौँ उपत्यकामा आठ जना, कोशी प्रदेशमा ३१ जना, मधेस प्रदेशमा नौ जना, बागमती प्रदेशमा सात जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना रहेका छन् । घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोमा परेका ५३ जनाको उद्धार गरिएको र छ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीको कारण जम्मा १८२ घर डुबानमा परेको बताइएको छ । यस्तै, २०३ वटा घर, ७५ वटा गोठ, ४१ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५१६ वटा पशुचौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार ५५२ घर परिवार विस्थापित भएका छन् ।

प्रकाशित मिति : २०८१ असार ३२ गते सोमबार