सूचनाको शक्ति - The Power Of Information

        

त्रिशूलीमा बेपत्ता दुई बस र तिनका ५१ यात्रुको खोजी पुनः सुरु

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण शुक्रबार बिहान यात्रुसहित त्रिशुलीमा बेपत्ता दुई बस खोजी गर्दा शुक्रबार भेटिएका कपडा र फर्किंदै गरेका सुरक्षाकर्मी । तस्वीर : रासस

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरूको खोजी गर्न थालेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार रातिमा काम गर्न नसकिने भएकाले शुक्रबार साँझ खोजी रोकिएको थियो । नदीमा पानीको मात्रा बढी भएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या देखिएपछि गएराति खोजी रोकिएको थियो ।प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले सम्भावित सबै स्थानमा हराइरहेका यात्रुको खोजी गरिने बताए ।

उनले भने, ‘धमिलो पानीकैबीच खोज र उद्धार थालेका छौँ ।’ काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए । काठमाडौँबाट गौर आउँदै गरेको बसमा २७ तथा वीरगन्जबाट काठामाडौँतर्फ जाँदै गरेको बसमा सवार २४ यात्रु बेपत्ता भएका प्रजिअ यादवले जानकारी दिए । उक्त घटनामा तीन यात्रु पौडी खेलेर बाँचेका छन् ।

प्रकाशित मिति : २९ असार २०८१, शनिबार ०८:३३

लोकप्रिय