जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी जारी गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । मनसुन न्यून चापीय प्रणाली सरदर स्थानबाट नेपालतर्फ सरेकाले महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै उच्च सतर्कता अपनाउन भनेको हो ।
महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अर्थात् नेपालको दक्षिण सिमाना आसपास छ । उक्त रेखा आज रातिबाट अझै नेपालतर्फ सर्ने सम्भावना छ । भोलि बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ ।
त्यसैले यी दुवै प्रणालीको प्रभावले आज असार २६ गते रातिदेखि २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने पूर्वानुमान गरिएको मौसमविद झाले जानकारी दिए । सोही विश्लेषणको आधारमा महाशाखाले नेपालका ४३ जिल्लालाई उच्च जोखिममा र २६ जिल्लालाई मध्यम जोखिमको सूचीमा राखेको छ ।
महाशाखाले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र उदयपुरलाई उच्च जोखिमको सूचीमा राखेको छ । यसैगरी मधेशका सिरहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी तथा बागमतीका मकवानपुर, चितवन, सिन्धुपाल्चोक, दोलखा, धादिङ, सिन्धुली र रसुवा पनि उच्च जोखिमको सूचीमा परेका छन् ।
गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लम्जुङ र गोर्खा जिल्लालाई पनि महाशाखाले उच्च जोखिमको सूचीमा राखेको छ । उच्च जोखिमको सूचीमा लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम र दाङ पनि परेका छन् । मध्यम जोखिममा कोशी प्रदेशबाट ओखलढुंगा मात्र परेको छ ।
बागमतीबाट रामेछाप, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे र नुवाकोट जिल्ला पनि मध्यम जोखिममा छन् । गण्डकीका मनाङ र मुस्ताङ तथा लुम्बिनीका बाँके, बर्दिया, रुकुम पूर्व, रोल्पा, प्युठान र अर्घाखाँची तथा कर्णालीका दैलेख, सुर्खेत, सल्यान, रुकुम पश्चिम र जाजरकोट जिल्ला मध्यम जोखिमको सूचीमा छन् ।
सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम र बैतडी जिल्लालाई पनि मौसम पूर्वानुमान महाशाखाले मध्यम जोखिमको सूचीमा राखेको छ । न्यून जोखिममा कर्णालीका डोल्पा, कालिकोट, मुगु, जुम्ला र हुम्ला तथा सुदूरपश्चिमका बाजुरा, दार्चुला र बझाङ जिल्ला छन् । यस वर्षको मनसुन २८ जेठ अर्थात् १० जुनमा कोशी प्रदेशमा भित्रिएको थियो ।
सरदर मितिभन्दा तीन दिन छिटो नेपाल भित्रिएको मनसुन असार १० गते अर्थात् २४ जुनमा सुदूरपश्चिम प्रदेशभर फैलिएको थियो । मनसुन भित्रिएदेखि हालसम्मको अवधिमा देशभर ८१ जनाको मृत्यु भइसकेको छ । यस वर्ष मनसुन अवधिमा सरदरभन्दा धेरै पानी पर्ने प्रक्षेपण भएकाले बाढी पहिरो र डुबानको समस्या बढ्ने सम्भावना छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन अवधिमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने आकलन गरेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं