सूचनाको शक्ति - The Power Of Information

        

बाढीपहिरोमा परेर देशभर ८३ जनाको मृत्यु, १०६ घाइते

अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत २८ जेठदेखि बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परेर ३३ पुरुष, २५ महिला र २५ बालबालिकाको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार गत २८ जेठदेखि बुधबार बिहानसम्म बाढीपहिरोमा परेर १०६ जना घाइते भएका छन् । हालसम्म दुई पुरुष र तीन महिलासहित पाँच जना बेपत्ता भएको उनले बताए ।

घाइते हुनेमा ५१ पुरुष, ३६ महिला र १९ बालबालिका छन् । उक्त समयमा बाढीपहिरोका कारण ३८४ पशु चौपायाको क्षति भएको छ । यस्तै, १३९ घर र ५४ गोठमा क्षति पुगेको छ भने वर्षा र पहिरोका कारण ८५८ परिवार विस्थापित भएका छन् ।

बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार ४२८ प्रहरी परिचालन गरिएको छ । मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको प्रहरी प्रवक्ता कार्कीले बताए ।

यस्तै, १६१ घर डुबानमा परेका र ११६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । देशभर दुई हजार ९५४ परिवार विस्थापित भएका छन् । उक्त घटनामा १० करोड ७० लाख ४० हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार १२:२७

लोकप्रिय