सूचनाको शक्ति - The Power Of Information

        

यस बर्ष कञ्चनपुरमा नेपालको इतिहासकै ठूलो बर्षा

लगातार वर्षाका कारण डुबानमा परेको कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित रहेको घर । नदी र तटीय क्षेत्रका स्थानीयबासी डुबानका कारण बढी प्रभावित भएका छन् । तस्वीर : शेरबहादुर सिंह । रासस

यस बर्ष मनसुन भित्रिएसँगै सुदूरपश्चिमको कञ्चनपुर जिल्लामा सबैभन्दा धेरै वर्षा भयो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असार २४ गते बिहान ८ः४५ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार यसलाई नेपालको इतिहासकै ठूलो बर्षा भनेको छ ।

प्रारम्भिक तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा वर्षा केन्द्रमा ६२४.० मिमि, हनुमान नगर वर्षा केन्द्रमा ५७३.६ मिमि र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मिमि वर्षा भएको थियो । महाशाखाका अनुसार वायुमण्डलीय तथ्याङ्क, भू–उपग्रहबाट लिइएको तस्वीर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको प्रारम्भिक विश्लेषण गरिएको थियो ।

उक्त दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानमा रहे पनि सुदूरपश्चिम प्रदेशका दक्षिण–पश्चिमी भू–भाग आसपासको तल्लो वायुमण्डलमा न्यून चापीय प्रणाली विकसित भएको तथा उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यून चापीय रेखा सक्रिय रही अरब सागर तथा बङ्गालको खाडी दुबैबाट आउने जलवाश्पयुक्त हावा सो स्थानमा सम्मिश्रण भई अति भारी वर्षा भएको देखिन्छ ।

महाशाखाको वि.सं. २००३ देखिको उपलब्ध तथ्याङ्क अनुसार दोधारा, हनुमान नगर र सुन्दरपुरमा मापन भएको माथि उल्लेखित वर्षा नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षा हो । यसअघि मिति २०७४ साउन २९ गते हेटौँडा केन्द्रमा सबभन्दा धेरै ५१६.२ मिमि वर्षा मापन गरिएको थियो भने भू–संरक्षण विभागको तथ्याङ्क अनुसार मिति २०५० साउन ५ गते मकवानपुर जिल्लाको टिस्टुङ् वर्षा केन्द्रमा ५४०.० मिमि वर्षा मापन गरिएको थियो ।

यस वर्ष जेठ २८ देखि पूर्वी नेपालबाट सुरु भएको मनसुन मिति २०८१ असार १४ गतेदेखि २०८१ असार २४ गतेसम्म सक्रिय भएको थियो । यसै क्रममा सुदूरपश्चिम प्रदेशका दक्षिण–पश्चिमी भू–भागमा मिति २०८१ असार २३ र २४ गते अति भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाको तथ्यांकले जनाएको छ ।

महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार, त्यस्तो अवस्थामा वायु माथितिर जान्छ । त्यसको प्रभाव पर्छ र वरिपरिबाट जलवाष्पयुक्त हावा (बादल) आएर ‘भारी’ वर्षाको सम्भावना हुन्छ । कञ्चनपुरमा मनसुनकै निम्नचापीय प्रणाली विकसित भएको उनले स्पष्ट पारे । ‘त्यो प्रणाली अहिले कमजोर भइसकेको छ,’ उनले भने, ‘वर्षा पनि घटिसकेको छ ।’

उक्त क्षेत्रमा ‘हल्का’ वर्षा भने भइरहेको उनले बताए । ‘त्यहाँ (सुदूरपश्चिम) आज दिउँसोसम्म हल्का वर्षा भएको देखिन्छ । त्यसपछि वर्षा कम भएर रोकिने सम्भावना छ,’ उनले भने । कञ्चनपुरमा ७७ वर्षयताकै धेरै वर्षा मापन गरिएको छ । कुनै स्थानमा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई अति भारी वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटर पानी पर्नुलाई भारी वर्षा भनिन्छ । २४ घण्टामा १० देखि ५० मिलिमिटरलाई हल्कादेखि ‘मध्यम’ र १ देखि १० मिलिमिटरसम्म पानी पर्नुलाई हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलवार १८:५४

लोकप्रिय