सूचनाको शक्ति - The Power Of Information

        

असार सकिनै लाग्दा बाँकेमा २५ प्रतिशत मात्रै रोपाइँ

बाँकेमा २५ प्रतिशत रोपाइँ भएको छ । पानीको अभावले असार १५ सम्म दुई प्रतिशत मात्र रोपाइँ भएको जिल्लामा केही दिनको निरन्तर वर्षाले २५ प्रतिशत रोपाइँ सफल भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँले बताए ।

उनले यो साता जिल्लामा प्रयाप्त वर्षा भएकोले आठ वटै पालिकामा रोपाइँ तीव्र गतिले भइरहेको जनाउँदै आगामी १० दिनभित्र ८० देखि ९० प्रतिशत रोपाइँ सम्पन्न हुने अनुमान गरिएको बताए । त्यसपछि बाँकी रहेको रोपाइँ छिटपुट रुपमा केही दिनसम्म भइरहने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

ज्ञान केन्द्रका अनुसार असार १५ गते धान दिवस मनारइरहँदा जिल्लामा पानी नपरेकोले अधिकांश किसानले बिउँ समेत राख्न पाएका थिएनन् । सोही कारणले सो अवधीसम्म दुई प्रतिशत मात्र रोपाइँ भएको थियो । पानी अभावले ढिलै सुरु भए पनि जिल्लामा धान उत्पादन हुने सबै खेतमा रोपाइँ हुने र उत्पादन समेत राम्रो हुने आशा गरिएको छ ।

समयमा रोपाइँ सुरु गर्न नसक्दा चिन्तामा परेका बाँके डुडुवा–५ का किसान रमेश यादवले आफूले हालसम्म २५ प्रतिशत भन्दा बढी रोपाइँ गरिसकेको जनाउँदै पछिल्लो समयको वर्षाले उत्पादन राम्रो हुने आशा बढाएको बताए । खजुरा गाउँपालिका–३ का किसान रामु थापाले ढिलै भए पनि धेरै राम्रो वर्षा भएकोले सोचेभन्दा राम्रो रोपाइँ गरेको बताए ।

कृषि ज्ञान केन्द्र बाँकेले पनि यस वर्ष ढिला गरि रोपाइ सुरु भए पनि बाढी र डुबान भएन भने विगतभन्दा राम्रो उत्पादन हुने सम्भावना रहेको जनाएको छ । बाँकेमा धान रोपाइँ हुने कूल ३६ हजार ५०० हेक्टर खेतीयोग्य जग्गा छ । गत वर्ष पनि सोही क्षेत्रफल खेतमा धानखेती गरिएको थियो । अहिले पनि सोही क्षेत्रफलमा धानखेतीका लागि रोपाइँ भइरहेको छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलवार १८:२७

लोकप्रिय