सूचनाको शक्ति - The Power Of Information

        

बेलायती प्रधानमन्त्री कार्यालयको ‘मुखिया’ बिरालो ट्विटरमा सक्रिय

बेलायतको प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटमा एउटा सेतो–खैरो बिरालो बस्छ । ल्यारी नाम गरेको बिरालो अहिले १७ वर्षको भयो । प्रधानमन्त्री कार्यालयका मुसा मार्न सरकारले नै मुखियाको विशेष दर्जा दिएर पालेको हो । बेलायत सरकारले ल्यारीलाई ‘चिफ माउसर टु द क्याबिनेट अफिस’को पद दिएर सन् २०११ देखि पाल्दै आएको छ ।

बेलायतको सरकारी वेबसाइटमा समेत ल्यारीको जिम्मेवारी स्पष्टसँग किटान गरिएको छ । १० डाउनिङ स्ट्रिटको आधिकारिक वेबसाइटमा ल्यारीको जिम्मेवारी ‘अतिथिको स्वागत गर्ने, सुरक्षा प्रबन्धको देखभाल गर्ने र पुराना फर्निचरमा उँघ्ने गुणस्तर परीक्षण गर्ने’ तोकिएको छ । बाहिर सडकमा हिँडडुल गरिसकेर प्रधानमन्त्री कार्यालयमा छिर्ने बेला त्यहाँ खटिएका सुरक्षाकर्मीले ल्यारीका लागि १० डाउनिङ स्ट्रिटको ढोका खोलिदिन्छन् ।

ल्यारीलाई ढोका खोलिदिँदै सुरक्षाकर्मी


हुन पनि १० डाउनिङ स्ट्रिटमा पाहुना भएर आउने अमेरिकी राष्ट्रपतिसहित विश्वका विशिष्ट नेताले समेत उसँग फोटो खिचाउने गरेका छन् । सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायत भ्रमणमा निस्केका थिए । त्यसबेला १० डाउनिङ स्ट्रिटमा पुगेका बेला ल्यारी ट्रम्पको सवारीमुनि सुतिदिएको थियो । सवारीमुनि सुतेको ल्यारी उठेर हिड्नेबेलासम्म ट्रम्पको गाडी चल्नै पाएको थिएन ।

सन् २००७ जनवरी १३ मा जन्मेको ल्यारी प्रधानमन्त्री कार्यालयमा जागिर पाउनुअघि ब्याटरसी डग्स एण्ड क्याट्स होममा हुर्केको थियो । शिकार खेल्न निपुण रहेको ल्यारीले प्रधानमन्त्री कार्यालयमा मुसाको समस्या समाधान गर्ने अपेक्षासहित उसलाई जागिर दिइएको थियो । ल्यारीले सन् २०११ को अप्रिल महिनामा बैठक कोठामा पहिलो मुसा मारेको थियो । सन् २०१३ को अक्टोबर महिनामा उसले दुई साताको अवधिमा चारवटा मुसा मारेको थियो ।

ल्यारी डाउनिङ स्ट्रिटमा देखा परेको स्याल लखेट्दै


ल्यारीले मुसा मार्न आँटेको देखेर त्यसबेला प्रधानमन्त्री कार्यालयमा काम गर्ने एक जना कर्मचारीले एउटा मुसालाई ल्यारीको पञ्जाबाट छुटाएका थिए । मुसामात्रै होइन, १० डाउनिङ स्ट्रिट आसपास आउने स्याल, परेवा र अरु जनवारलाई पनि ल्यारी देख्नै सक्दैन । सन् २०२२ मा १० डाउनिङ स्ट्रिटमा देखा परेको स्याललाई ल्यारीले नराम्ररी लखेटेको थियो ।

पछिल्लो समय भने ल्यारीले मुसा मार्ने जिम्मेवारी राम्रोसँग वहन गर्न नसकेको भन्दै आलोचना पनि खेप्दै आएको छ । यद्यपि बेलायत सरकारले भने ल्यारीको बचाउ गर्दै ल्यारीको मुसा मार्ने क्रम कार्यनीतिक योजनाको चरणमा रहेको बताउने गरेको छ । डेभिड क्यामरुनको पालादेखि १० डाउनिङमा बस्दै आएको ल्यारीले अहिलेसम्म प्रधानमन्त्रीका रुपमा क्यामरुनसहित टेरिजा मे, बोरिस जोनसन, ऋषि सुनकको को कार्यकाल देखिसकेको छ ।

हालैमात्र उसले आफ्नो कार्यकालका छैटौँ प्रधानमन्त्रीका रुपमा केर स्टार्मरलाई १० डाउनिङ स्ट्रिटमा स्वागत गरेको छ । अब उसले प्रधानमन्त्री स्टार्मरसहित उनकी श्रीमती भिक स्टार्मर उनका दुई छोरी र जोजो नाम गरेको स्टार्मरको बिरालोसँग प्रधानमन्त्री कार्यालयमा बस्नुपर्नेछ । राजनीतिक उतारचढावका बीच बारम्बार प्रधानमन्त्री परिवर्तन भइरहेका बेला ल्यारीले मात्र प्रधानमन्त्री कार्यालयमा स्थायित्वको महसूस गराएको विश्लेषण गरिन्छ । ल्यारी बेलायतमा मात्रै होइन, विश्वभर चर्चित छ ।

कतिसम्म भने सामाजिक सञ्जाल एक्स (साबिकको ट्विटर) मा ल्यारीको नामबाट खोलिएको अकाउन्टमा ८ लाख ८७ हजारभन्दा धेरै फलोअर्स छन् । एक्समा खोलिएको अनौपचारक अकाउन्टले बेलायती राजनीतिक र सामाजिक घटनाक्रमबारे ल्यारीको विचार सार्वजनिक गर्दै आएको छ । त्यतिमात्रै होइन, प्रधानमन्त्री कार्यालयमा कुनै औपचारिक कार्यक्रम भए, वा समाचारको खडेरी परेको खण्डमा ल्यारीको फोटो र भिडियो खिच्न पत्रकार र फोटोग्राफरको भिड नै जम्मा हुन्छ ।

बेलायती र अन्तर्राष्ट्रिय मिडियामा ल्यारीका फोटो र भिडियोले राम्रै भ्युज पाउँछन् । स्वतन्त्र फोटोग्राफरका रुपमा जस्टिन एङले विगत लामो समयदेखि ल्यारीको फोटो खिच्दै आएका छन् । उनका अनुसार प्रधानमन्त्री कार्यालय घुम्न आउने कतिपय पर्यटक त प्रधानमन्त्री कार्यालयका अरु आकर्षण छाडेर शुरुमा ल्यारीलाई नै खोज्छन् । डाउनिङ स्ट्रिट घुम्न आउने केटाकेटीले प्रधानमन्त्री होइन, शुरुमा ल्यारीलाई नै खोज्छन् ।

स्वतन्त्र फोटोग्राफर जस्टिनले एशोसिएटेड प्रेसलाई भनेका छन्, ‘यसले पनि यसअघिका, अहिलेका वा अब आउने कुनै प्रधानमन्त्रीभन्दा ल्यारी अझ कति प्रिय छ भन्ने देखाउँछ ।’ कुनै आश्चर्य नभए ल्यारी अझै केही समय मुसा मार्ने मुखियाको जिम्मेवारीमा रहने बेलायती सञ्चार माध्यमको भनाइ छ । बिरालोको औसत आयू १३ देखि १७ वर्षको हुन्छ । यस्तोमा ल्यारीको उमेरले डाँडा काट्न लागेको छ । तर, तत्कालै ल्यारीले अवकाश लिने सम्भावना भने नरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २५ असार २०८१, मंगलवार १७:२०

लोकप्रिय