बाँकेको राप्तीसोनारी-९ ढकेरीमा वन क्षेत्रको अतिक्रमण हटाएर उच्च प्रविधिको नर्सरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयले ढकेरीस्थित विगतमा रेञ्जपोष्ट रहेको करिब एक हेक्टर क्षेत्र अतिक्रमण गरी निर्माण भएका सात घरटहरा हटाएर नर्सरी निर्माण गरिएको हो ।
नर्सरीमा उच्च गुणस्तरीय बिरुवा उत्पादन गरिने शम्शेरगन्ज सवडिभिजन वन कार्यालयका प्रमुख वरिष्ठ वन अधिकृत सुशील सुवेदीले बताए । ‘गाउँपालिका, वडा कार्यालय लगायतको सहयोगमा अतिक्रमण हटाएर हाइटेक नर्सरी निर्माण गर्न सफल भएका छौं,’ उनले भने ।
प्रमुख वरिष्ठ वन अधिकृत सुवेदीका अनुसार हाइटेक नर्सरीको टर्मिनेशन च्याम्बरमा बहुवर्षीय ठूला जातका बिरुवा आठ हजार र साना जातको बिरुवा २० हजार हुन्छ, बाहिर सामान्य नर्सरीमा ५० हजार बिरुवा उत्पादन गर्ने क्षमता रहेको छ ।
एकीकृत भूपरिधि परियोजनाको ३५ लाख रूपैयाँ बजेट लगानीमा नर्सरी तयार गरिएको हो । अहिले निर्माण भएको नर्सरीमा अझै दुई–तीन तह स्तरवृद्धि गरेर पूर्ण हाइटेक नर्सरी बनाउने योजना रहेको प्रमुख वरिष्ठ वन अधिकृत सुवेदीले बताए ।
ढकेरी हाइटेक नर्सरीलाई लक्ष्यित गरी यो वर्ष शम्शेरगन्जमा १६ हजार बिरुवा उत्पादन गरिएको छ । आगामी भदौमा ती बिरुवालाई शम्शेरगन्जबाट ढकेरी हाइटेक नर्सरीमा सारिने र अर्को वर्षदेखि उक्त नर्सरीमै बिरुवा उत्पादन गरिने वन अधिकृत सुवेदीले बताए ।
अतिक्रमण हटाएर हाइटेक नर्सरी निर्माण कार्यले वनक्षेत्र संरक्षण र बिरुवा उत्पादनको दोहोरो फाइदा भएको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत अजितकुमार कर्णले बताए । उनका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा पनि हाइटेक नर्सरीको संरचना निर्माण भएको छ ।
आगामी वर्षदेखि ढकेरी र नरैनापुर हाइटेक नर्सरीबाटै बिरुवा उत्पादनको काम हुनेछ । ‘चालु आर्थिक वर्षमा चार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमण गरी बनेका २७ घरटहरा हटाएर १३ जनामाथि मुद्दा दायर भएको छ,’ उनले भने, ‘अन्य स्थानको वन क्षेत्रमा विगतमा भएको अतिक्रमण हटाउने र नयाँ अतिक्रमण हुन नदिने योजनाका साथ काम भइरहेको छ ।’
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके