सुन तस्करीको जाँचबुझ आयोगको प्रतिवेदन गृहमन्त्री रवि लामिछानेले लुकाएका छन् । पूर्वन्यायाधीशको नेतृत्वमा गठित आयोगले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको चार महिना पुग्दैछ, तर अहिलेसम्म आयोगको प्रतिवेदन गोप्य राखिएको मात्र छैन, प्रतिवेदन नै गायब बनाएर कारबाही गर्न भनिएका व्यक्तिहरूलाई सिआइबीले धमाधम उन्मुक्ति दिई जोगाइएको छ । यो अक्षम्य अपराध हो । प्रतिवेदन गायब पार्नेहरुमाथि कडा कारबाही गर्नुपर्छ ।
सिआइबीले दोस्रो चरणको सुन तस्करी प्रकरणको अनुसन्धान पूरा भएपछि पत्रकार सम्मेलन गरेर केही आरोपितहरुलाई उन्मुक्ति दिइसकेको छ । तर अनुसन्धानमा संलग्न प्रहरीलाई भने अझै कारवाही गर्ने भन्दै अलमल्याई राखिएको छ । सीआइबी प्रमुख ज्ञवालीले केही दिनअघि पत्रकार सम्मेलनमा ‘तथ्य र प्रमाण’ले पुष्टि गरेकामाथि मुद्दा चलाउन सिफारिस गरिएको बताएका थिए । त्यस क्रममा दीपेश पुनसहितका व्यक्तिलाई किन अनुसन्धानको दायरामा नल्याएको भन्ने प्रश्नमा उनले ‘प्रमाणले पुष्टि नगरेको’ जवाफ दिएका थिए ।
जबकि, उनीहरूलाई उन्मुक्ति दिएको आरोपमा एआईजी किरण बज्राचार्यलाई सीआईबी प्रमुखबाट हटाएर ज्ञवालीलाई ल्याइएको थियो । तर यसपालि उनीहरूसँग सामान्य सोधपुछसमेत नगरी उन्मुक्ति दिइएको हो । स्कुटरको ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो र विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको साढे ९ किलोसहितको सुन तस्करीको अनुसन्धान गर्न गत वर्ष असोजमा आयोग गठन गरिएको थियो ।
चैत १ मा आयोगको प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले सबै दोषीलाई कठोरतापूर्वक कारबाही गरिने बताएर अघिल्लो पटक अनुसन्धानमा संलग्न रहेका प्रहरी अधिकारीलाई कारवाही गर्ने भन्दै प्रहरी प्रधान कार्यालयमा तानिएको थियो । तर अहिले गृहमन्त्री रवि लामिछानेले माओवादी नेताहरुसँग मिलेर तस्करीमा संलग्न रहेका कर्मचारी, राजनीतिज्ञहरुलाई उन्मुक्ति दिलाएका छन् । उता सिआइबीले बुझाएको अनुसन्धान प्रतिवेदन पनि गृहमन्त्रीले आफैसँग राखेर गायब बनाएका छन् ।
‘राज्यको महत्वपूर्ण प्रमाणहरु गायब बनाउने वा नष्ट गर्ने अधिकार कोही कसैलाई पनि हुँदैन । तर, गृहमन्त्रीले यसलाई आफ्नै घर्रामा राखेर सचिवलाई समेत दिएका छैन । एक थान प्रधानमन्त्रीलाई बुझाएका थिए, प्रधानमन्त्री पुष्पकमल दाहालले पनि त्यसलाई बाहिर ल्याउन चाहेका छैनन,’ गृहमन्त्रालयका एक कर्मचारीले भने । आयोगको प्रतिवेदन आउनासाथ पूर्वसभामुख तथा माओवादी नेता कृष्णबहादुर महरालाई पक्राउ पनि गरिएको थियो ।
तर, लगत्तै अस्पताल भर्ना गरेर गृहमन्त्री लामिछानेले छोड्न आदेश दिएका थिए । सुन तस्करीमा महराको संलग्नता नदेखिएको भन्दै सीआईबीले अहिले मुद्दा नचलाउने निर्णय गरिसकेको छ । जबकि सोही प्रकरणमा छोरा राहुल महरा अहिले पनि थुनामा रहेका छन् । सुन तस्करीमा पूर्वसभामुख महरा, छोरा राहुल, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका दुई छोरा जितेन्द्र र दीपेश, पूर्वउपराष्ट्रपतिका तत्कालीन वैदेशिक मामिला विज्ञका रूपमा रहेका जीवन गुरुङ र सहसचिव झलकराम अधिकारी मुछिएका थिए ।
गत असार १७ मा मुद्दा अदालत पुगेको छ, जसमा पहिले नै पक्राउ परी पुर्पक्ष कारागारमा रहेका बाहेक थप २० जना पक्राउ र २६ जनालाई फरार सूचीमा राखेर अभियोजन गरिएको छ । तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र चिनियाँ नागरिक दावाजिन वाङसँग पूर्वउपराष्ट्रपतिका छोराहरू तस्करी धन्दामा संलग्न रहेको र अमला रोकालाई प्रहरीले खोज्ने प्रयास समेत गरेन ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं