सूचनाको शक्ति - The Power Of Information

        

रवि लामिछानेको बचाउमा लाग्ने प्रहरी अधिकृतहरु त्रासमा

सहकारीको सात अर्बभन्दा बढी बचतकर्ताको निक्षेप अपचलन गरेका गितेन्द्रबाबु राईको ठगी साम्राज्यमा जोडिएका गृहमन्त्री रवि लामिछानेको बचाउमा नेपाल प्रहरीका केही उच्च अधिकृतले देखाएको सक्रियताले उनीहरु निकै अप्ठेरोमा परेका छन् ।

गृहमन्त्री नेपाली कांग्रेसले लिने भएपछि रविको बचाउमा खुलेर लागेका प्रहरी अधिकृतहरुमा सन्त्रास छाएको छ । चितवनको सहारा, पोखराको सूर्यदर्शनदेखि बुटवलको सुप्रिम सहकारीबाट रवि लामिछाने प्रबन्ध निर्देशक रहेको ग्यालेक्सी टीभीमा ६१ करोड लिएको सहकारी ठगीको छानबिन गर्न गठित समितिमा आइजीपी बसन्तबहादुर कुँवरले नै तथ्यांक दिएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)का प्रमुख एआइजी श्यामलाल ज्ञवाली गृहमन्त्री लामिछाने त रविको पक्षमा खुलेरै देखिए । आगामी भदौ २६ गते अवकाश हुन लागेका ज्ञवालीले सुनकाण्डमा माओवादी नेताहरुलाई बचाएको र गृहमन्त्री लामिछाने जोडिएका सहकारीको ठगीमा उनको संलग्नताको बिषयमा ढाकछोप गर्न खोजेको आरोप छ ।

ज्ञवालीले लामिछानेलाई सहकारी ठगीमा जोगाउने काम गरेबापत प्रहरीमा कायम रहेको ३० बर्ष सेवावधि हटाउने र आईजीपी नै हुने खेलमा थिए । सीआइबी आइजीपी कुँवर अन्तर्गत हो । तर सीआइबीका कतिपय काम कारबाहीका बारेमा उनले आइजीलाई समेत थाहा नदिएको चर्चा हुने गरेको छ ।

पोखराको सूर्यदर्शनदेखि बुटवलको सुप्रिम सहकारीबाट ठगिएकाहरुको उजुरी दर्ता नगर्न दबाब दिने काम प्रहरी प्रधान कार्यालयमा बसेर डीआईजी दानबहादुर कार्कीले गर्दै आएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी बिजराज पण्डितलाई डीआइजी कार्कीले दबाब दिएर सुप्रिम सहकारीका पीडितले रवि लामिछाने र दिपेश पुनबिरुद्ध दिएको उजुरी नै दर्ता हुन दिएका थिएनन् ।

पोखराको सूर्यदर्शन सहकारीका पीडितले उजुरी दर्ता गराउन जाँदा कार्कीले नै रोक्न लगाएका थिए । कास्कीका एसपी मोहनकुमार थापाले पनि रवि बिरुद्धको उजुरी नलिएर उनको सेवा गर्न कुनै कसर बाँकी राखेनन् । त्यसो त आइजीपी कुँवरलाई राज्यब्यवस्था समितिमा रविका बिरुद्ध देशका कुनै पनि प्रहरी कार्यालयमा उजुरी नपरेको बयान दिन लगाउने पनि कार्की नै भएको प्रहरी हेडक्वाटरमा चर्चा छ ।

चेन अफ कमाण्ड नै बिर्सेर डीआइजी कार्की गृहमन्त्री लामिछानेको पक्षमा मुखर भएर लाग्नेमा पर्दछन् । जागिरका दौरान सधैं आकर्षक कार्यालयमा बसेका कार्की शक्तिकेन्द्रसँग निकट रहने र फाइदा उठाउने प्रहरी अधिकृतमा अग्रपंक्तिमा पर्दछन् । जुनियर भए पनि रविलाई बचाउन सबै किसिमका हत्कण्डा प्रयोग गरेर उनी डिआइजीमा बढुवा हुन सफल भएका छन् ।

नुवाकोटका कांग्रेस नेता अर्जुननरसिंह केसीको परिवारसँग निकट सम्बन्ध भएका अर्का डीआईजी मनोजकुमार केसी पनि लामिछानेको अति नै विश्वासपात्र हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाका अति निकट बालकृष्ण खाँणलाई एउटा उजुरी नपरे पनि भूटानी शरणार्थी प्रकरणमा पक्राउ गरी उनको राजनीतिक जीवन नै समाप्त पार्ने काम गरे ।

खाँणपछि आरजु राणाको पनि भूटानी शरणार्थी प्रकरणमा संलग्नता छ भनेर मिडियाबाजी गराउने र पक्राउ गर्न सकिने हल्ला पनि डिआइजी मनोज केसीले नै चलाएको निष्कर्ष बुढानीलकण्ठले निकालेको स्रोतले बताएको छ । प्रधानमन्त्री हुन लागेका एमाले अध्यक्ष केपी शर्मा ओलीका पीए राजेश बज्राचार्यको नाम समेत एआइजी ज्ञवालीदेखि दानबहादुर कार्की र मनोज केसीहरुले मिडियामा दिएकोबारेमा बालकोट पनि अनभिज्ञ छैन ।

डीआइजी केसी पनि सधैं तर मार्नेमै पर्दछन् । उनी मोरङमा हुँदा होस् कि रुपन्देहीमा नै किन नहोस्, कमाइधमाइमा कोहीभन्दा कम थिएनन् । गृहमन्त्री रवि लामिछानेको बचाउमा मर्यादा नै बिर्सेर लाग्ने यी उच्च अधिकृतका अलावा नेपाल प्रहरीका एसपीद्वय मोहनकुमार थापा (कास्की) र उपत्यका अपराध अनुसन्धान कार्यालयका अंगुर जीसी पनि हुन् । अंगुर जीसी पनि लामिछानेका भित्रिया नै मानिन्थे ।

उनलाई लामिछानेले प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाको प्रमुखमा सरुवा गराउन खोजेका थिए । तर आईजीपी कुँवरले ठाडै इन्कार गरेकाले उनको त्यो योजना पूरा हुन नसकेपछि उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा गएका थिए । जीसी पनि सधैं आकर्षक पोष्टिङ पाउनेमा पर्दछन् । इन्स्पेक्टर हुँदा थानकोट र सिमराजस्ता प्रहरी कार्यालयको इन्चार्ज भएका र त्यसपछि पनि आकर्षक ठाउँ बस्दैआएका जीसी कहिल्यै तालिम केन्द्र र कर्णाली अन्चलमा गएका छैनन् ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार १७:३५

लोकप्रिय