बाँकेको कोहलपुर नगरपालिका पनि यस वर्ष बाढी र डुबानको अत्यधिक जोखिममा रहेको प्रक्षेपण कोहलपुर नगरपालिकाले गरेको छ । कोहलपुर नगरपालिकाको नगर विपद् व्यवस्थापन समितिले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ मा सो कुरा उल्लेख गरिएको छ ।
यस वर्ष वर्षा बढी भएकाले बाढी र डुबानबाट नगरपालिकाका १५ वडाका तीन हजार घरधुरीका १३ हजार ६३० परिवार उच्च जोखिममा रहेको प्रक्षेपण गरिएको छ । कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले आइतबार बसेको नगर विपद् व्यवस्थापन समितिको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ लाई पारित गरेको बताए ।
उनले अब सोही योजना अनुसार क्षतिलाई न्यूनीकरण गर्दै जाने गरी तीव्र गतिमा काम गर्न विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको बताए । एक पटकको ठुलो वर्षा भई सकेर नगरपालिकाका विभिन्न ठाउँ डुबानमा परिसकिएपछि मात्रै ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ लाई पारित गरिएकोमा त्यसको सर्वसाधारणले आलोचना समेत गरेका छन् ।
कोहलपुर ८ का स्थानीय स्थानीय दिनेश थापाले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ कार्यान्वयन गरेर जाने बेलामा पारित गरिएकोले अब हुने सबै काममा ढिलाइ हुने गुनासो गरे । उता, कोहलपुरका विपद् व्यवस्थापन शाखा प्रमुख वीरबहादुर थापाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पारित भएसँगै त्यसको कार्यान्वयन पनि सुरु भएको जनाए ।
उनका अनुसार समितिले यो बर्खायाममा बाढी र डुबानबाट नगरका १५ वडाका तीन हजार एक घरधुरीका १३ हजार ६३० परिवार प्रभावित हुने प्रक्षेपण गरेको जनाउँदै सबैभन्दा धेरै वडा नम्बर १, ८, ९, १२, १३ र १४ मा बाढी र डुबानको जोखिम देखिएको छ । प्रतिकार्य योजनामा वडा नम्बर १२ मा एक हजार घरधुरीका चार हजार दुई जना प्रभावित हुने प्रक्षेपण गरिएको छ ।
थारुगाउँ, दीपज्योति टोल, शान्ति टोल, निबुवा, जानकी टोल, सुन्दरबस्ती, मसुरीखेत, रामजानकी टोल, रोहिणी, प्रगति टोल र स्कुल टोल जोखिममा रहेका छन् । यसैगरी, वडा नम्बर १३ का सिमरी, झोलुङ्गे पुलको दायाँबायाँ, भरैया, थारुगाउँ, खड्कवार, नेरामाविको उत्तरवस्ती गरी १७५ घरधरीका ७४० परिवार प्रभावित हुने अनुमान गरिएको छ ।
वडा नम्बर १४ मा हवलदारपुर, गीतापुर, उढरापुर र रिहार गरी १६० घरधुरीका ८०० परिवार जोखिममा छन् । वडा नं.८ का ८०० घरधुरीका तीन हजार २०० परिवार जोखिममा छन् । सो वडाका मुन्नापुर, झर्कट्टी, पिपरीचोक टोल जोखिममा परेका छन् । वडा नं.९ का गणेश टोल, भेरी ग्याँसको पूर्व तथा उत्तरका ३७५ घरधुरीका एक हजार १९५ परिवार प्रभावित हुने आङ्कलन छ । वडा नं. १ का सबै टोल जोखिममा रहेका छन् ।
सो वडाका १५० घरधुरीका ७५० परिवार प्रभावित हुने आङ्कलन गरिएको छ । यस्तै, वडा नम्बर १० मा एकतानगर, चटार गाउँ, रामनगर, जीवन ज्योति स्कुल आसपास, डुडुवा खोला आसपासका १२० घरधुरीका ६०० परिवार प्रभावित हुने प्रक्षेपण गरिएको छ । नगरपालिका क्षेत्रको करिब ६० किलोमिटर क्षेत्रमा डुडुवाखोला, किरणनाला, सानो डुडुवानाला, इटानाला, रोहिणी खोला बग्ने गर्छन् । खासगरी डुडुवा खोला, डुडुवा नाला र किरणनालाले यसक्षेत्रका सर्वसाधारणलाई बाढी र डुबानको जोखिममा पार्ने गरेका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके