सूचनाको शक्ति - The Power Of Information

        

भारतमा नेपालीसहित चार जनाको घाँटी रेटेर हत्या

भारतको मेघालयमा नेपालीसहित चार जनाको घाँटी रेटिएको अवस्थामा शव भेटिएका छन् । शनिबार उम्प्लेङ बजार पछाडि चार शव फेला परेको त्यहाँको प्रहरीले जनाएको छ । पूर्वी जैन्तिया हिल्स (ईजेएच)मा स्थानीय अधिकारीहरूले विशेष अनुसन्धान टोली (एसआइटी) मार्फत घटनाको छानबिन गरिरहेको बताएका छन् ।

प्रहरी उपरीक्षक, ईजेएचका गिरी प्रसादले घटनाको पुष्टि गर्दै एसआइटी गठन गरी अपराधको अनुसन्धानलाई तीव्रता दिइएको जानकारी सञ्चार माध्यमलाई दिएका छन् । हालसम्म प्राप्त विवरणअनुसार मृत्यु हुनेमा नेपालको इलाम घर भएका रवि राई पनि छन् । अन्य पीडितको सनाखत हुने क्रममा रहेको बताइएको छ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर एवं नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीले दिएको जानकारी अनुसार २३ वर्षीय राई आफ्नी दिदीसँग बस्ने गरेका थिए । दिदी दूतावासको सम्पर्कमा रहेको उनले बताए । यस्तै एकजना धरान र एकजना भोजपुर घर भएका व्यक्ति रहेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए । एक जना भने स्थानीय आदिवासी रहेको उनको भनाइ छ ।

उनका अनुसार प्रहरीसँग दूतावासले नियमित जानकारी लिइरहेको छ । घटना अनुसन्धानकै क्रममा रहेकाले धेरै जानकारी प्रहरीबाट पनि प्राप्त हुन नसकेको उनको भनाइ छ । हाल शवहरू सिभिल अस्पताल, खिल्हरियात लगिएको छ, जहाँ पोस्टमार्टम गरिनेछ । सुरक्षा अधिकारीहरुका अनुसार शवहरू हात बाँधिएको र धेरै चोटका दागहरूसहित फेला परेका थिए ।

घटनाको प्रकृति हेर्दा क्रूर र पूर्वनियोजित आक्रमणको संकेत रहेको सुरक्षा अधिकारीहरुले बताएका छन् । घटना एकै दिन र एकै ठाउँ भएको हो कि होइन भन्ने अझै स्पष्ट नभइसकेको चतुर्वेदीको भनाइ छ । फरकफरक समय र ठाउँमा हत्या गरेर एक ठाउँमा ल्याएर शव फालेको हो कि एउटै घटना हो भन्ने विषय अन्योलमै रहेको उनले बताए ।

प्रकाशित मिति : २३ असार २०८१, आइतवार ०६:५४

लोकप्रिय