सूचनाको शक्ति - The Power Of Information

        

सेती नदीमा बाढी, ६० घरपरिवार सुरक्षित स्थानमा

सेती नदीको जलस्तर बढेर बाढी बस्ती पस्न थालेपछि बैतडीको सिगासका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० घरपरिवारलाई स्थानीय शारदा माविमा सारिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

उनले भने, ‘सेती नदी गाउँ पस्ने खतरा बढेपछि ढुङ्गाडका ६० घरपरिवारलाई सुरक्षित स्थानमा सारेका हौँ । स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको छ ।’ नदीमा बाढीको सम्भावना बढेसँगै उनीहरू पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका हुन् ।

अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि स्थानीय त्रसित बनेका छन् । नदी किनारमा लगाएको तटबन्धमाथि जलस्तर पुगेपछि स्थानीय बासिन्दा घर छाड्न बाध्य भएका इन्द्रबहादुर चन्दले बताए । सेती नदीमा पानीको बहाव बढ्दै गएपछि सिगास गाउँपालिका–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको उच्च जोखिममा परेका छन् ।

यस्तै वडा नं ६ का सेती किनारका बस्ती पनि बाढीको जोखिममा परेका बताइएको छ । सेती नदीको बाढीले यहाँ बर्सेनि आतङ्क मच्चाउने गरेको छ । यसअघि २०७८ कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले सिगास–५ ढुङ्गाड लगायत क्षेत्रमा सेतीको बाढी पस्दा ठूलो क्षति गरेको थियो । लगातार वर्षा भइरहेकाले जोखिम हुनसक्ने भन्दै सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतवार ०६:४६

लोकप्रिय