सूचनाको शक्ति - The Power Of Information

        

राप्ती तटीय क्षेत्रका १५० घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

बाँकेका ५० हजार बढी नागरिक र हजारौं घरहरु बाढीको जोखिममा

लगातारको वर्षाले बाँकेका ५० हजार बढी नागरिक र हजारौं घरहरु बाढीको जोखिममा परेका छन् । शनिबार साँझसम्म राप्ती नदीमा पानीको सतह आठ मिटर १३ सेन्टिमिटरसम्म पुगेपछि तटीय क्षेत्रका १५० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

जल तथा मौसम विज्ञान कार्यालयले राप्ती नदीमा अझै पानीको सतह बढ्न सक्ने जनाएको छ । बाढीका कारण नदीको तटीय क्षेत्र डुवानको जोखिममा परेपछि यहाँका १५० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रजिअ रिजालका अनुसार राप्ती नदीमा पानीको बहाव खतराको तहभन्दा माथि पुगेपछि बाँकेस्थित डुडुवा गाउँपालिका–१, चौफेरीका उनीहरुलाई सुरक्षित स्थानमा सारिएको हो । उनले भने, ‘डुवानको जोखिममा परेपछि यहाँका नागरिकलाई सुरक्षित स्थानमा जान भनिएको छ ।’

राप्तीको बाढी बस्तीमा पस्न सक्ने जोखिम भएकाले सुरक्षित स्थानमा बस्न भनिएको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिँदै यी क्षेत्रका बासिन्दा बढी चनाखो हुन आग्रह गरेका छन् ।

बाढीजन्य प्रकोपको पूर्वतयारीका लागि राप्ती नदी, मान खोला, किरण नाला र डुडुवा नाला लगायतका जोखिमयुक्त क्षेत्रमा कटान र बाढीका कारण क्षति हुनसक्ने आँकलन गरिएको छ । यस्तो बेलामा सबै नागरिकलाई सचेत रहनु उनको आग्रह छ ।

जिल्ला विपद् व्यवस्थापन समिति पनि सचेतरुपमा लागिरहेको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले जानकारी दिए । बाढीका कारण राप्तीसोनारी गाउँपालिका–१ स्थित बाघखोर गाउँका १० घर डुबानमा परेका छन् । बाँकेमा हालसम्म अन्य क्षति भने भएको छैन ।

प्रकाशित मिति : २२ असार २०८१, शनिबार २०:३८

लोकप्रिय